Donate for a Good Cause

कक्षाको प्रभावले श्रीमान विदेशबाट फर्कनु भयो, छोराले भन्यो, केक काट्ने पैसाले बीमा गरिदिनु

कक्षाको प्रभावले श्रीमान विदेशबाट फर्कनु भयो, छोराले भन्यो, केक काट्ने पैसाले बीमा गरिदिनु

सात बर्ष अघि स्याङ्गजा जिल्लाको हरिनासबाट बसाई सरेर तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ लाई कर्मथलो बनाउनु भएकी ३९ बर्षिया प्रतिभा भट्टराईले भोटेपानी वितीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेर २१ हप्ता बिताईसक्नु भएको छ । कक्षामा नियमित रुपमा सहभागी हुनु भएकी प्रतिभा कक्षामा आउनु अघि व्यवसायलाई ध्यान भने दिनुहुन्न थियो ।

प्रतिभाको श्रीमान् १३ बर्ष अघि पहिलोचोटी कतार जानुभएको जानु भयो । श्रीमान् कतार जाँदा प्रतिभालाई दुःखका दिन सक्किए झैं लागेको थियो । उहाँलाई बिदेशमा पैसाको बोट नै हुन्छ जस्तो लाग्थ्यो । श्रीमान् विदेश गएदेखि नै प्रतिभा कहिले महिना मर्छ र श्रीमान््को तलव हाता लाग्छ भनेर दिन गनेर बस्नुहुन्थ्यो । भनेजति र समयनै नपठाए रिसाउने अनि श्रीमान्सँग झगडा गर्न तम्सिहाल्ने प्रतिभालाई वितीय साक्षरता कक्षाका बिषयले मन छोयो । श्रीमान्को कमाईले घर र आफ्नो चाहाना पूरा गर्दै आउनु भएकी उहाँलाई श्रीमान्ले पठाएको पैसाले महिना धान्न समेत मुस्किल पथ्र्यो ।

नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षिय सम्झौता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल, शुक्लागण्डकी नगरपालिकाकोनेतृत्व तथा हेल्भेटासको प्राविधिक सहयोगमा नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको थियो । डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा प्रतिभा पनि नियमित आउन थाल्नु भयो । कक्षामा नियमित आउन थालेपछि उहाँले दैनिक रुपमा हुने खर्च र आम्दानीको बिवरण छोरालाई टिप्न लगाई राख्न थाल्नु भयो । आफूले टिपेको हिसावले आफ्नै मन बुझाउनका लागि गरिने खर्च नियन्त्रण गर्न अनि श्रीमान््ले विदेशबाट पठाएको पैसा के केमा खर्च भएको छ भन्ने बुझाउन समेत सजिलो भयो भन्नुहुन्छ, प्रतिभा । 

घरमा हुने खर्चको हिसाव राख्न थालेपछि मेरा छोरो पनि खर्च गर्न डराउने भयो, उहाँ भन्नुहुन्छ, “हरेक बर्ष आफ्नो जन्मादिनमा केक काट्ने र साथीभाई बोलाएर खर्च गर्न जिद्दि गर्ने छोरो मुसा गुरुको कथा पढेपछि साटिएजस्तै भयो । कथामा झैं थोरै थोरै बचत गरेको पैसाले पनि भविष्यमा आईपर्ने ठूलो खाँचो टार्न सक्ने रहेछ भन्ने थाहा पायो । पैसाको महत्व बुझेपछि छोरो पनि पैसा खर्च गर्न डराउँछ” मुसागुरुको कथापछि कितावमा भएको भबिष्यको सुरक्षाको लागि बीमाको महत्वको बारेमा लेखेको कुरा पनि पढ्यो र यसपालीको  जन्मदिनमा छोराले भन्यो, “जन्मदिन मनाउन गर्ने पैसाले मेरो बीमा गरिदिनु, म जन्मदिनमा केक काट्दिन बरु साथीहरुलाई चकलेट खुवाउँछु ।” यसरी कक्षाको पाठ पढेर छोराले समेत त्यस्तो कुरा गर्यो । म दंग भएँ । मैले पनि छोराले भनेझैं उसको बीमा गरिदिएको छु । छोरो पनि बीमा गरेको थाहा पाएर खुशी भएको छ, उहाँ भन्नुहुन्छ ।

श्रीमान् घरमा नहुँदा प्रतिभाले गरेका दुःख बयान गरिनसक्नुका छन् । कक्षामा गएपछि बिदेशमा गर्ने दुःख घरदेशमा नै गर्यो भने नहुने भन्ने केहि रहेनछ भन्ने लाग्यो प्रतिभालाई । उहाँले श्रीमान्लाई भन्नु भयो । “बिदेश बस्न थालेकै १३ बर्ष भईसक्यो, अब फर्कनुस् यहि बसेर दुःख गरौंला ।” श्रीमान्ले पनि प्रतिभाका योजना सुनेपछि फर्कने मन गर्नुभयो ।……..अहिले श्रीमान् कतारबाट फर्कनु भएको छ ।

प्रतिभाले कक्षामा गएपछि गाईपालन व्यबसाय सुरु गर्नुभएको थियो । श्रीमान् कतारबाट फर्किएपछि उहाँले गाई थप्नु भयो । उहाँले अहिले २ वटा जर्सी गाई, १० वटा बाख्रा र बजारमा स्थानीय जातका कुखुराको राम्रो बजार भएको कारण ६० वटा स्थानीय जातका कुखुरा पाल्नु भएको छ । गाई, बाख्रा र कुखुराको मल खेर जाने भएपछि उहाँले आफ्नै बारीमा तरकारी खेती समेत सुरु गर्नुभएको छ । अहिले २ जोईपोईलाई गोठ र बारीको कामले भ्याईनभ्याई छ, भन्नुहुन्छ प्रतिभा ।

गाई पाल्नु अघिसम्म दुध किनेर खाने प्रतिभाले अहिले गाई दुहेर घर–घरमा दुध पुर्याईदिन जानुहुन्छ । दुध लैजादा तरकारी समेत लिएर जाने र घरघरमा तरकारी समेत बिक्री गर्नुहुन्छ । उहाँ कक्षामा सिकेझैं गरी दुध र तरकारीबाट भएको आम्दनी खर्चको हिसाव पासबुकमा लेख्नुहुन्छ । पहिले छोरालाई हिसाव टिपाउने प्रतिभाको श्रीमान् फर्किएपछि श्रीमान्ले टिप्न थाल्नुभएको छ; भन्नुहुन्छ, प्रतिभा । मासिक आम्दानी खर्चको हिसावले महिनामा ४५ हजार देखि ५० हजार सम्म कमाई हुने कुरा बोलेको छ, उहाँ मुस्कुराउनु हुन्छ । प्रतिभाको घर खर्च अनि ९ र १० कक्षामा पढ्ने छोराछोरीको पढाई खर्च दुध र तरकारी व्यवसायले सजिलै धानेपछि उहाँले सहकारी संस्थामा महिनाको ५ हजार बचत गर्न थाल्नु भएको छ । प्रतिभालाई अरुको कुरा काटेर र दिनभरी बात मारेर बस्ने फुर्सद नरहेको बताउनु हुन्छ । घरमा बसेरै दुःख गर्यो भने विदेशमा कमाएजति पैसा यही कमाउन सकिन्छ भनी साथीहरुलाई भन्नुहुन्छ । कमाउनु भन्दा पनि भएको पैसा लाई बचत गर्न र खर्चको बर्गिकरण गरेर खर्च गर्न जान्यो भने मात्र लक्ष्मीले घरमा बास गर्छिन् भन्नुहुन्छ प्रतिभा ।

प्रतिभाको श्रीमान्लाई आजभोली झन् फुर्सद नै छैन । घर, गोठ र बारीको काम सकेर मोबाईलमा अनलाईन पढ्नुहुन्छ । आजभोलीका यूवापिंढी समेत ज्योतिष बिद्यामा चासो राख्ने भएको र यहि विद्या राम्रो जान्यो भने कमाई पनि राम्रो हुने भएको हुँदा आफूले ज्योतिष विद्या पढ्न थालेको बताउनु हुन्छ, प्रतिभाका श्रीमान् । अव हामीले गरेको दुःख र ज्योतिष विद्या पढेर मेरो पनि कमाई हुन थालेपछि खेत किन्ने र कुखुरापालन व्यवसाय बढाउने उहाँहरुको योजना छ । प्रतिभालाई वित्तीय साक्षरता शिक्षा गृहिणी र पैसा चलाउनेहरुले मात्र नभएर बिद्यालयमा पढ्दै गरेका आफ्ना छोराछोरीहरुलाई समेत सिकाउनु पर्छ भन्ने लागेको छ ।