Donate for a Good Cause

हात कमजोर भएर पनि कहिल्यै हारिन बरु वित्तीय साक्षरता कक्षाले जीवन नै बदलिदियो

हात कमजोर भएर पनि कहिल्यै हारिन बरु वित्तीय साक्षरता कक्षाले जीवन नै बदलिदियो

अम्बरे तामाङ, सर्मिला तामाङको श्रीमान् हुनुहुन्छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ४ को मण्डलाटोल घर भएका अम्बरे तामाङले ९ बर्ष अघि सर्मिलालाई आफ्नो घर भित्राउनु भयो । ९ बर्ष अघि बिवाह बन्धनमा बाँधिनु भएकी सर्मिला भर्खर २५ बर्ष पूरा हुनुभएको छ । उहाँको साथमा २ छोराहरु छन् । सानो छोरा २ बर्ष र ठूलो छोरा ८ बर्षका भईसकेका छन् । ६ महिना पुरा भएपछि सानो छोराको भातखुवाई गरेर श्रीमान् युएई जानुभयो ।

सर्मिलाको बिगत अमिलो छ । उहाँ बिहे गरेर आएको घर अनि माईती सँगसँगै छ । सासु ससुराले विहे गरेको ४ महिना पछि नैे अलग राखिदिने कुरा गर्नुभएको रहेछ, मेरा श्रीमान्सँग तर श्रीमान्ले मलाई  भन्नु भएको थिएन । एकदिन सासुले एक्लै बसेर गरिखानु भनेपछि साह्रै चित्त दु खेको बताउनु हुन्छ सर्मिला । उहाँ भन्नु हन्छ, सानो उमेरमै बिहे गरेकी मलाई भिन्नै बसेर आफैंले चुल्हो धुवाँउनु पर्छ भन्ने लागेकै थिएन । सर्मिलाले पछि मात्र थाहा पाउनु भयो । आफूलाई मन नपर्ने बुहारी भएको अनि शारिरिक दुर्बलताका कारण सासु ससुराले छुट्याईदिनु भएको रहेछ । माईती नजिक भएकोले उहाँहरुलाई बिहे अघि नैे हाम्रो परिवारको सवै कुरा थाहा थियो भन्नु हुन्छ सर्मिला ।

कमाउने बाटो नहुँदा अम्बरे दम्पतीलाई घर चलाउन गाह्रो भयो । ज्यालामजदुरी गरेर गुजारा चलाईरहनु भएका उहाँहरुको पहिलो सन्तानको रुपमा छोरा जन्मियो । छोरा त जन्मियो, छोराको गोडा जन्मँदै कमजोर थियो । उहाँहरुलाई छोरा जन्मिएको खुशीले भन्दा घरको कमजोर आर्थिक अवस्था र कमजोर छोरा जन्मिएको हुँदा थपिएको चोटको पिडा बढि थियो ।

छोरा हुर्कदै गयो । घरमा एकपछि अर्को गर्दै अभावहरु थपिँदै जान थाले । छन् गेडी सवै मेरी छैनन् गेडी सवै टेडी भने झैं, अभावमा कसैले साथ दिएनन् उहाँहरुलाई । सुन्दर सपना बोकेर कमाउनका लागी भारतको केरला जानुभयो । केरलामा श्रीमान् होटलमा काम गर्नुहुन्थ्यो । सर्मिला साहुको घरमा काम गर्नुहुन्थ्यो । काम गरेपछि दाम पाईन्थ्यो तर त्यो भन्दा धेरै साहुको गाली र टोकसो सहनु पथ्र्यो । हामी ५ बर्ष केरलामा बसेर गाउँ फर्किएको ३ बर्ष मात्र भएको छ । अहिले आफैं कामदार अनि आफैैं मालिक भएको छु उहाँ मुस्कुराउनु हुन्छ ।

श्रीमान् युएई गएपछि सर्मिला वित्तीय साक्षरता तथा मनोपरामर्स कक्षामा सहभागी हुनुभयो । कक्षामा आफूले नजानेका कुरा सिक्न पाउनु भयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा उहाँको गाउँमा मण्डला वित्तीय साक्षरता तथा मनोपरामर्स कक्षा गठन गरेको छ । कक्षामा गाउँबाट बिदेश जानेहरुका श्रीमतीहरु भन्दा विदेश जाने श्रीमतीहरुको श्रीमान्हरुको संख्या बढी छ ।

गाउँमा दैनिक काम हुँदैनथ्यो । काम नभएपछि श्रीमान् पनि बरालिएर बस्नु हुन्थ्यो । विदेश जाने सोच भएपनि हामीसँग बिदेश जाँदा तिर्नुपर्ने पैसा थिएन । हामी कुनै संस्थामा सदस्य पनि बनेका थिएनौं । सदस्य बन्दा पाईने सेवाको बारेमा थाहा पनि थिएन । विदेश जाने निर्णय गरेपछि श्रीमान्ले सहकारीबाट बुवाको नाममा ३ लाख ऋण लिनुभयो । मेनपावरलाई एकलाख २० हजार बुझाउनु भएको श्रीमान्ले अरु प्रकृया र किनमेलका लागि १ लाख ५० हजार खर्च गर्नुभयो । विदेश जाने बेला मलाई पनि ३० हजार हातमा राख्दिनु भयो । श्रीमान् बिदेश गएदेखि परिवारमा जिम्मेवारी बढेको महसुस भयो भने माया गर्ने मान्छे नभएको अनुभूति भएको सर्मिला सुनाउनु हुन्छ ।

श्रीमान् विदेशबाट महिनैपिच्छे पैसा पठाउनु हुन्थ्यो । तर बिदेश जाँदा र नन्दको विहे गर्दा लागको ऋण तिर्न पठाएको पैसा छोप पनि हुँदैन थियो । यसले गर्दा उहाँलाई चिन्ता लाग्थ्यो । पैसा हातमा लिएर ऋण तिरेको दिन तिर्न बाँकी रहेको ऋण सम्झँदा निन्द्रा समेत लाग्दैथ्यो सर्मिलालाई । दिनहरु बित्दै थिए । श्रीमान्ले बिदेशबाट पैसा नपठाए हातमुख जोडिने अवस्था थिएन । पठाएको पैसा कुनै हालतमा बचत हुन सकेन । गाउँमा २०७९ माघमा वित्तीय साक्षरता कक्षा गठनका लागि गाउँपालिकाबाट सहजकर्ता आउनु भयो । मलाई सुरुमा कक्षामा बस्नु पर्छ भन्दा किन जाने र? त्यो कक्षामा भन्ने सोच आउँथ्यो उहाँ भन्नुहुन्छ ।

गाउँमा बिदेश जानेहरुले पैसा खर्च गरेर आफ्ना सपना पूरा  नभई अधुरै भएको देख्नु भएकी सर्मिलाले कक्षामा जान थालेपछि अभावमै जीन्दगी गुज्रनुको कारण समेत थाहा पाउनु भयो । श्रीमान्ले बिदेश जाने बेला काम नगरी छोराहरुको स्याहार राम्रोसँग गर्नु भन्नु भएको थियो । तर कक्षाले श्रीमान्ले भनेको कुरालाई प्रतिवाद गर्न सक्ने बनायो । उहाँको मनमा घरव्यवहार चलाउन मात्र भएपनि आफैंले पैसा कमाउन पाए हुन्थ्यो भन्ने सोच आउन थाल्यो ।

सर्मिलाको घरमा सासु ससुरा खासै राम्रो हुनुहुन्नथ्यो । कक्षामा सर्मिलाले परिवारसँगको सम्वन्ध फाट्नुको कारण पनि जान्नु भयो । त्यसपछि उहाँले बुहारीको धर्म निभाउन थाल्नु भएको छ । पसलमा भएको गोलभेंडा र सिजन अनुसारको तरकारी घरमा लगिदिनु हुन्छ । श्रीमान्ले पनि जस्तो व्यवहार गर्छन्, तिमी पनि त्यस्तै व्यवहार गर भन्नुहुन्छ तर हामीले नहेरे सासु ससुरालाई कसले हेर्छ भन्ने जवाफ दिने गरेकी छु भन्नु हुन्छ उहाँ ।  उहाँको पसलमा गाउँको भान्सामा पाक्ने सवैखाले सामान बेच्न राख्नु भएको छ । दैनिक पसलबाट १५ सय देखि २ हजार सम्म फाईदा बस्ने गरेको छ, भन्नुहुन्छ उहाँ । उहाँको गाउँमा कहिलेकँहि भैंसी काट्छन् । गाउँमै भैसी काटेको बेला उहाँको होटलमा मःम पाक्छ । मःम बनाएको बेला भने मःमबाट मात्रै उहाँले १ देखि २ हजार सम्म कमाउनु हुन्छ । हप्ताको १ दिन मःम बनाउने गरेको उहाँको होटलमा दिनदिनै मःम भने बिक्री हुँदैन ।

कक्षामा गएपछि सर्मिलाले श्रीमान् र बच्चाहरुलाई गर्ने व्यवहार फेरिएको छ । सर्मिलाले आफूले कमाएको पैसाबाट दैनिक बचत गर्ने गर्नुभएको छ । दैनिक रुपमा गरेको बचतको पैसा झिकेर पसलको सामान थप्ने गरेको बताउनुहुन्छ उहाँ । मेलम्चीको होलसेलबाट सामान ल्याएर बेच्ने उहाँलाई सामान ल्याउन आफैं जानु पर्दैन । होलसेल दोकानले नै गाउँसम्म सामान ल्याएर झारीदिन्छ ।

कक्षामा बसेपछि आफूले दैनिक रुपमा कमाएको पैसा र श्रीमान्ले बिदेशबाट पठाएको पैसाको समेत हिसाव राख्नु भएको छ । श्रीमान्ले पठाएको पैसाबाट उहाँले ३ लाख खर्च गरेर छोराको उपचार गर्नुभयो । अव यहि महिना श्रीमान्ले विदेश जाँदा लिएको सवै ऋण चुक्ता गरी सर्मिला ऋण मुक्त हँुदै हुनुहुन्छ ।  अहिले घर खर्च चलाउनका लागि श्रीमान्को कमाई कुर्नुपरेको छैन । घरमा हुने सवै खर्च आफैले पुर्याउनु भएको छ । पहिला उहाँको घरखर्चमा मात्र श्रीमान्ले पठाएको १५ हजार रुपैंया खर्च हुन्थ्यो । अहिले घरखर्च, छोराहरुको पढाईखर्च र दैनिक रुपमा हुने अरु खर्चका लागि समेत आफै पुर्याउनु हुन्छ सर्मिला ।

सर्मिलाले घरका सवै कुरा श्रीमान्सँग सल्लाह गर्न थालेपछि श्रीमान् पनि आफूले गरेको खर्च सवै उहाँलाई सुनाउनु हुन्छ । यसो हुँदा उहाँहरुको घर सल्लाह मात्र हैन, भविष्यमा के गर्ने भन्ने योजना समेत बनेको छ ।

सुरुमा श्रीमान्लाई म पसल खोल्छु भनेर सुनाउँदा श्रीमान्ले शहर गएर बस्ने कत्तीका श्रीमती दोस्रो बिहे गरेर गएका छन् भनी पसल नखोल भन्नुभयो । तर श्रीमान्लाई उहाँले कक्षामा थाहा पाउनु भएका सवै कुरा सुनाएपछि श्रीमान्ले नाई भन्नु भएन । बरु गाउँमा अवेलासम्म होटलमा बस्ने, र पिँएपछि हो–हल्ला र झैं–झगडा गर्ने हुँदा बेलुका ८ बजेपछि पसल नखोल्नु भन्नु भयो । यसरी श्रीमान्सँग मेसेन्जरमा भएका सवै कुराको स्क्रिन सट उहाँले प्रमाणका रुपमा राख्नु भएको छ । भोली तेरै खुशीले पसल खोलेकी त होस् नी भनेर मैसँग माथापाच्चीस गर्ने पो हो की?  सर्मिला मुस्कुराउनु हुन्छ ।

यसरी कक्षामा बसेपछि सर्मिलाले भिषाको प्रकारका बारेमा थाहा पाउनु भएको छ । काम गर्न जाने मान्छे भिजिट भिषामा बिदेश जानु हुँदैन भन्ने थाहा पाएको दिन उहाँलाई चैनसँग निन्द्रा परेन । भोली पल्टै श्रीमान्लाई सवै कुरा सुनाउनु भयो । श्रीमान्ले पनि बिदेश पुगेपछि थाहा पाएको बताउनु हुन्छ । फेरी पनि कामका लागि बिदेश नै फर्कनु परे भिजिट भिषामा नजाने भनी कसम नै खानु भएको छ श्रीमान्ले सर्मिला सुनाउनु हुन्छ ।

सर्मिलाले पसल चलाएर नै पहिले लिएको ऋण १ लाख ५० हजार रुपैंया पनि फिर्ता गरिसक्नु भएको छ । श्रीमान् पनि अवको ५ महिना पछि घर आउँदै हुनुुहुन्छ । उहाँ भन्नुहुन्छ वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाले हाम्रो जीवन नै बदलिदियो ।