सामुहिक खेतीमा रमाउँदै वित्तीय साक्षरता कक्षाका सहभागीहरु
धादिङ बेसीबाट ५ किलोमिटर पुर्व लागेपछि आईपुग्छ बसाह गाउँ । धेरै घर क्षेत्री बाहुनको रहेको बसाहा गाउँमा २०७२ सालको भुकम्प पछि प्रायः सवै घर ढलान भएका छन् । ५० घरधुरीको वसोबास रहेकोे बसाह गाउँमा यूवा भेटिदैनन् । गाउँमा कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने धारणा बनेपछि यूवाहरु कामका लागि विदेश जाने दर थेगिनसक्नुको छ । भएका सवै यूवाहरु विदेश पलायन भएपछि गाउँमा यूवाहरु भेटिनै मुस्किल भएको हो । विदेशिनेहरुले पनि परिवारको सपना अनि आफ्नो भबिष्य सम्झेर खाडीका देश र मलेसियामा आफ्नो रगत लत्पतिएको पसिना वेचिरहेका छन् ।
परदेशिनेहरुले परदेशबाट पठाएको पैसाले घरदेशमै बस्नेहरुले नुनदेखी सुन सम्मको खाँचो टारेका छन् तर आजभोली वालबच्चा पढ्न पठाउने अनि घरकै काममा मात्र दिनभर व्यस्त हुने बसाहा गाउँका महिलाहरुको दिनचर्या भने फेरिएको छ । निलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्र्तगत डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा चलेको वित्तीय साक्षरता कक्षा पछि बसाहा गाउँमा बस्ने महिलाहरु कमाउनका लागि एकजुट बन्नु भएको छ । बसाह वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा २१ हप्ता सम्म नियमित छलफल गरेपछि १० जना महिलाहरु मिलेर सामुहिक तरकारी खेती गर्ने योजना बनाउनु भएको थियो ।
वित्तीय साक्षरता कक्षामा सहभागी भएर घर धान्नको लागि विदेशको मात्रै मुख ताक्नु हुन्न भन्ने थाहा पाएपछि बसाहा गाउँका महिलाहरु आफैंले टनेल खेती सुरु गर्नुभएको बताउनु हुन्छ कक्षा व्यवस्थापन समितिका संयोजक एवं वडा नं. २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ ।
सामुहिक रुपमा तरकारी खेती गर्न जुट्नु भएका सवै महिलाहरुको परिवारका सदस्य वैदेशिक रोजगारीका लागि खाडीका देशमा जानुभएको छ । खाडीमा अरुका देशबाट माटो किनेर ल्याएर त तरकारी फलाएका छन् । हामी आफ्नै माटोमा किन पौरख नगर्ने? भन्नुहुन्छ, कक्षाकी सहभागी एवं सामुहिक तरकारी खेती गर्ने १ जना महिला सदस्य मान कुमारी नेपाल ।
तरकारी खेतीका लागि उहाँहरुले १० रोपनी जग्गा लिजमा लिएर सामुहिक रुपमा लगानी गर्नुभएको छ । लगातार २१ हप्तासम्म कक्षामा आएर छलफल गर्ने १० जना सहभागीहरुले २÷२ लाख रुपैँया लगानी गर्नु भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउनका लागि उहाँहरुले प्लाष्टिकको टनेल बनाउनु भएको छ । उहाँहरुले सुरु गरेको काममा थप हौसला दिन कृषि ज्ञान केन्द्रले बेमौसमी तरकारी उत्पादनका लागि १० लाख रुपैँया बराबरको अनुदान दिएको छ ।
कक्षामा नियमित रुपमा सहभागी भएपछि पैसा बुझेर स्वदेशमा नै पैसा कमाउने धेरै बाटोहरु देख्यौं । कक्षामा व्यवसायीक योजना बनाउन सिकेको हुँदा आफूहरुलाई व्यवसाय गर्नका लागि उर्जा मिलेको बताउनु हुन्छ कक्षाका सहभागीहरु । दुरीका हिसावले काठमाडौंको बजार पनि नजिकै रहेको र स्थानीय तरकारी बजारमा समेत तरकारीको राम्रो माग रहेको बुझेपछि तरकारी खेती व्यवसाय नै रोजेको बताउनुहुन्छ कक्षाकी सहभागी रुपा नेपाल ।
गाउँमा चलेको वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षामा आउन थालेपछि रुपैंया पैसा अनि घर चलाउन सिकेको बताउने उहाँहरुले बल्ल आँखा उघ्रिएको महसुस गर्नुभएको छ । एकतामा बल हुन्छ समुहमा मिलेर काम गर्ने बानी भए आँटेको काम फत्ते गर्न सजिलो हुने र व्यवसायीक जोखिम समेत कम हुने हुँदा सामुहिक तरकारी खेतीका लागि संगठित भएको सहभागीहरुको भनाई छ ।
आफूभित्र भएको क्षमताको पहिचान गर्न अनि व्यवसायीक योजना बनाउन नसक्दा आफुहरु पछाडी परेको रहेछौं जस्तो लाग्छ उहाँहरुलाई । हप्ताको एक दिन २१ हप्तासम्म वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा लिएपछि आफुहरुको सोचाई नै फेरिएको जस्तो लाग्छ रुपालाई । उहाँ भन्नुहुन्छ “कक्षामा आएपछि हाम्रो तेस्रो नेत्र खोलियो, अब हामी महिलाहरु संगठित भई व्यवसाय गरेर पैसा कमाउन सक्ने भएका छौं । यसरी काम गर्दा हामीलाई आँट त आएको छ नै, श्रीमान्को कमाई सँगसँगै हामी पनि स्वदेशमै स्वरोजगार हुन पाँयौं । यसरी आफैं स्वरोजगार बन्न सकियो भने हाम्रो सपना पूरा गर्न परदेशिएकाहरुलाई समेत घरदेशमा नै बोलाउन सकिने रहेछ । विदेशको कमाई भनेको साउने भेल जस्तै हो । त्यसैले अब विदेश जानेका श्रीमती र आमाहरु पनि संगठीत भएर असल अभ्यास गर्न सक्छन् भनेर समाजमा सन्देश दिन पनि हामीले सामुहीक खेती सुरु गरेका हौ ।”
बाँसको भाटा प्रयोग गरी त्यसैमाथी प्लाष्टिक बिछ्याएर बनाईएको टनेलमा अहिले गोलभेडा र धनिँया रोपिएको छ । तरकारी रोप्नेदेखि गोड्ने समेतका कामहरुमा आफूहरु नै जुट्ने गरेको बताउनु हुन्छ कक्षाको अर्की सहभागी मिना कुमारी मगर । बेमौसमी तरकारी खेती गर्दा तरकारीको भाउ राम्रो आउने भएकोले टनेल खेतीप्रति आकर्षित भएको बताउनु हुन्छ, सोविता पन्त । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बसेपछि कृषि र उत्पादन सम्बन्धी अन्य तालिममा पनि सहभागी भएको र व्यवसाय छनौट र व्यवसायीक योजनाको विषयमा छलफल गर्दा आफुहरुको ठाउँमा पनि टनेल खेती गर्न सकिने भएकोले सामुहिक टनेल खेती गरिएको बताउनु हुन्छ कक्षाका सहभागीहरु ।
कक्षामा बसेपछि आफुहरुको व्यवसायीक क्षमता समेत बढेकोले दिदीबहीनीहरु मिलेर व्यवसाय गरौँ भनेर सुरु गरिएको मिरा नेपात बताउनुहुन्छ । स्वदेशमै स्वरोजगार बन्न सकियो भने विदेश जानुपर्ने बाध्यता हट्ने रुपा नेपालको बिश्वास छ । २१ हप्तासम्म चलेको कक्षा बन्द भएपनि व्यवसायीक रुपमा संगठीत भएर यही समुहलाई नगरपालिकामा दर्ता गर्ने सोच राख्नु भएको छ उहाँहरुले ।