सम्पन्नता प्राप्तिको पथमा आठ दिदी बहिनीहरु
सामाजिक सञ्जालमा रमाएर दिन कटाउने सिद्घार्थ नगर वडा नं १ का ८ दिदी बहिनीहरु असाद्घै मिल्ने साथी हुनुहुन्छ । सामाजिक सञ्जाल दिन कटाउने उत्तम माध्यम भएको हुँदा उदायसँगै अस्ताएको पत्तो नपाउने ८ दिदी बहिनीहरुको आजभोली दिनचर्या फेरिएको छ । बच्चाको आमाको बिहानको दैनिकी भ्याई नभ्याई हुन्छ । बच्चालाई स्कुल पठाएर एकसरो भाँडा माझेपछि थला मारेर बस्न पाईन्छ । अझ साथीसंङ्गि जम्मा भएर गफ गर्नुको आनन्द अरु केमा हुन्छ र ? उहाँहरु हाँस्दै आफ्नो अनुभव सुनाउनु हुन्छ । उहाँहरु आठै जनाको दैनिकी यसैगरी चलेको थियो । कुनै दिन अभावको महसुस गर्नुपरेन, उहाँहरुले । पैसाको अभाव भए विदेशमा कमाउने श्रीमान् गुहार्न पाएपछि अभाव समेत नहुने गरेको उहाँहरुको भोगाई छ ।
रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिकाले उहाँहरुको गाउँमा एउटा कार्यक्रम राख्यो । गाउँभरीबाट विदेश जानेका परिवारका सवै मानिस बैठकमा आए । उहाँहरु पनि सल्लाह गरी कार्यक्रममा सहभागी बन्नु भयो । सिद्धार्थनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्षले भेटेर नै कार्यक्रममा बोलाउनु भएको हुँदा बैठकमा आएको बताउनु हुन्छ, यम कुमारी । बैठकमा गएपछि उहाँहरुले थाहा पाउनुभयो, डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा सिद्घार्थनगर नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यकमले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा संचालनका लागि समूह गठन गर्नका लागि पहिलो भेला आयोजना गरेको रहेछ । कार्यक्रम अवधिभर विदेशका काम र कमाईका कुरा गरेको सुन्दा घर फर्कन मन भएन भन्नुहुन्छ, हरिमाया । यसरी आठै जना साथीसाथी कार्यक्रमको अभिभुखिकरणमा सामेल हुनु भयो । कार्यक्रममा बसेर आफ्नो लागि फाईदै फाईदा हुने देखेपछि उहाँहरुलाई पनि कक्षामा सहभागी बन्ने निर्णय लिन सजिलो भयो ।
२०७८ सालको जाडो महिना शायद मंसिर हुनुपर्छ उहाँहरुको गाउँमा नै विदेश जानेका परिवारहरुबाट २५ जनाको समुह बन्यो । २१ हप्ता कक्षा चलाउन गठन गरिएको समुहमा हुनुहुन्थ्यो, यम कुमारी, हरिमाया, सारिका, रन्जुकला, कन्या गुरुङ, पुष्पा, माया थापा र दुर्गा । वित्तीय तथा मनोसामाजिक परामर्श कक्षामा उहाँहरु नियमित आउनु हुन्थ्यो ।
वित्तीय साक्षरताका कक्षामा उहाँहरुले वित्तीय साक्षरताका धेरै कुरा बुझ्न पाउनु भयो । कक्षामा बसेपछि उहाँहरुलाई विदेशको कमाई साउने भेल झैं लाग्न थाल्यो । अनि पो बल्ल पैसाको अभाव हुँदा श्रीमान् गुहारेको कुराले भत्भती पोल्न थाल्यो । विदेशमा कमाएको वेला पैसालाई चिनेर सहि व्यवस्थापन गर्न सकेन भने भोलीका दिन झन् कठिन हुँदै जाने कुरा बुझ्नु भयो । आफूहरुले कुरो बुझेपछि बुझेको कुरा विदेशमा बस्ने श्रीमान्लाई सुनाउन थाल्नु भयो । उहाँहरुको श्रीमान् श्रीमतीका कुरा सुनेर श्रीमतीहरुको व्यवहार फेरिएकोमा खुशी हुनुभयो ।
श्रीमान्लाई विदेश पठाउनुअघि आफुलाई ऋण नपत्याएको र साथमा पैसा नहुँदा पाएको दुःख सम्झन कक्षाले बाध्य बनायो । श्रीमान् जसोतसो विदेशिएपछि अब दुःखका दिन गए भनेझैं लाग्ने गरेको उहाँहरु बताउनु हुन्छ । हरेक परिवारमा आम्दानीको स्रोत सिमित हुन्छ । तर परिवारमा हुने खर्च असिमित छन् । मानिसको कमाई बढ्दै गए खर्च गर्ने पवृत्ति फेरिँदै जान्छ । त्यही पवृत्तिले मानिसलाई आर्थिक रुपमा कमजोर पार्ने रहेछ भन्ने पाठ सिक्न पाएकोमा आफूहरु दंग भएको बताउनुहुन्छ, उहाँहरु ।
परिवारको एकजनाले कमाएर घरको खाँचो टार्नु भनेको एउटै हातका औंलाले भाँडाको १० वटा प्वाल थुन्नु सरह रहेछ । यस कारण कति समयसम्म निरन्तर भाँडाको प्वाल थुन्न सम्भव छ ? परिवारको आर्थिक अभावको दिगो समाधान खोज्ने उपायहरुका लागि हामी कक्षामा आईरहेका छौं भन्नु हुन्छ उहाँहरु ।
जिन्दगी लामो छ, हाँसीखुशी जीवन चलाउने कुरा साँच्चै कठिन छ । हामीले दैनिकरुपमा गर्ने खर्चको तरिका ठीक रहेनछ । कक्षामा सिके झैं आम्दानी खर्चको दुरुस्त हिसाव राख्न आवश्यक रहेछ । परिवारमा पनि परिवारको लागि मासिकरुपमा हुने खर्चको पूर्वानुमान गर्नुपर्ने रहेछ भनी उहाँहरुले पारिवारिक बजेट बनाउने अभ्यास गर्न थाल्नु भएको छ । आफूले बनाएको बजेट अनुसार खर्च गर्न सकिए मात्र आफूले सोचे जस्तै जीवन बाँच्न सकिने रहेछ, भन्नुहुन्छ उहाँहरु ।
दिनभरी खाली बस्दा पनि शरिरमा कतिवेला बोसो लाग्छ थाह समेत हुँदैन । यसकारण क्षणिक आनन्दको अनुभूतिको लागि दिन नै खेर फाल्ने हाम्रो दैनिकी कक्षामा बसेपछि फेरियो । बरु फुर्सदको समयलाई कमाउने काममा लगाउन सकियो भने परिवारमा हुने खर्चको लागि सँधै श्रीमान्को मुख ताक्नु पर्ने थिएन भन्ने सोच आयो भन्नुहुन्छ, रञ्जुकला । यसरी मनले काम गर्ने कुरा अह«ाएपछि उहाँहरुमा उद्यम गर्ने सोच पलायो । उहाँहरुले सोचेका कुरा वडा अध्यक्षलाई सुनाउनुभयो । सुरुमा त वडाअध्यक्ष आफै आश्चर्यमा पर्नुभयो । किनकी उहाँहरुमा यो सोच आउला भन्ने अनुमान वडा अध्यक्षले समेत गर्नुभएको थिएन ।
उहाँहरुको सोचमा वडा अध्यक्षले समेत होस्टेमा हैंसे गर्ने बचन दिनुभयो । उहाँहरुले मैनबत्तीको राम्रो बजार देख्नु भएको थियो । यसकारण उहाँहरुले वडा अध्यक्षसँग मैनबत्तिसँगै अगरबत्ती बनाउने तालिम माग गर्नुभयो । वडा अध्यक्षले उहाँहरुको चाहाना पूरा गर्नेगरी उहाँहरुको गाउँमा १ हप्ते मैनबत्तिसँगै अगरबत्ति बनाउने तालिम संचालन गर्नुभयो । उहाँहरुको सिक्ने ईच्छालाई फेसबुक र टिकटकले समेत टार्न सकेन । उहाँहरु १ हप्तासम्म नियमित तालिममा सहभागी भई मैनबत्तिसँगै अगरबत्ति बनाउन निपूर्ण हुनुभयो ।
यसरी तालिम मार्फत सीप पाईसकेपछि उहाँहरुले मैनबत्ति बनाउने साँचो, पहाडिया कागज, धुप बनाउने मसला अगरबीत्त बनाउने सामग्री गरी १ लाख लगानीबाट व्यवसाय शुरुवात गर्नुभयो । जसमा १ जनाले १२ हजार ५ सय रुपैंया लगानी गर्नुपर्यो उहाँहरु बताउनुहुन्छ ।
उहाँहरुको गाउँमा समुहको भवन छ । त्यही भवनमा उहाँहरुले कारखाना राख्नु भएको छ । दिनभर भवनमा बसेर आठै जना सीप अनुसारको काममा खटिनुहुन्छ । उहाँले गरेको काम र व्यापारको कमाईले आफूले गरेको सवै लगानी उठाई पनि सक्नु भएको छ, उहाँहरुले ।
यसरी वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाबाट कमाउने बाटोमा पुग्नु भएका उहाँहरुलाई हिजो आज मैनबत्तिसँगै अगरबत्ति बनाउने कामले भ्याइ नभ्याइ छ । सिजनको बेलामा लाख बत्ति पनि वनाउने काम गर्नुहुन्छ । कुनै ठाउँमा तालिमको माग भई हाले प्रशिक्षक बनेर जाने गर्नु भएको छ उहाँहरु । अहिलेसम्म समुहमा लगानी गर्ने आठै जनाले महिनामा जनही २० देखि २५ हजार कमाउनु हुन्छ । आफैंले कमाएको पैसाले उहाँहरुको घरखर्च चलेको बताउनु हुन्छ । कमाउने भन्दा पनि जमाउने धनी हुन्छ भन्ने लाग्ने उहाँहरुले महिनामा ५ हजार रुपैंयाँ बचत समेत गर्न थाल्नु भएको छ । हिजोसम्म फेसबुकमा राम्रा राम्रा फोटो राखेर र टिकटकका भिडियो हेरेर दंग हुने उहाँहरु आजभोली आफूले कमाउन सकेकोमा दंग हुनुहुन्छ ।