विदेशबाट पठाएको पैसा जोगाउन प्लाष्टिकको घर ।

आजभोली सरिता श्रेष्ठको दिनचर्या बदलिएको छ । चार सय बोट सिर्जना जातको गोलभेँडालाई स्याहार गरेपछि मात्र सरीता घरको काममा लाग्नुहुन्छ । एक वटा टनेलमा गोलभेंडा लगाउनु भएको छ भने अर्कोमा रायोको साग । १ सय ८० बर्ग मिटरमा फैलिएको दुई वटा ठुला र प्रविधीयुक्त प्लाष्टिक टनेल नै सपनाको घर जस्तै भईसकेको छ सरिताको ।
सरिताको श्रीमान् कतार जानुभएको २ बर्ष भयो । श्रीमान्ले विदेशमा गएर कमाएको पैसाले उहाँको घर व्यवहार चलेको थियो । विदेशबाट महिना महिनामा पैसा आउने भएपछि घर व्यवहार चलाउन गाह्रो थिएन, सरितालाई । भुँईचालो पछि ऋण धन गरेर घर बनाउँदा ऋण लाग्यो । त्यही ऋण तिरेर घर खर्च चलाउनको लागि दुःख सुख गरेर कमाएकै पैसाले पुगेको थियो सरितालाई । छोराछोरी स्कुल पठाएर आफू बस्तुभाउ र तरकारी बारीमा खटिनु हुन्थ्यो उहाँ ।
एक बर्ष अघि नीलकण्ठ नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट गठन भएको रिजालडाँडा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा सहभागी भएपछि भने सरिताको सोच मात्रै होईन व्यवहार नै फेरिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ की सरिता श्रेष्ठले अहिले ३ लाख ५० हजार रुपैँयाको लगानीमा प्रविधीयुक्त प्लाष्टिकको टनेल निर्माण गर्नुभएको छ । ६० प्रतिशत कृषि विकास कार्यालय र ४० प्रतिशत आफ्नो गरेर थोपा सिचाई सहितको टनेल निर्माण गरी गोलभेँडा खेती र रायोको साग खेती सुरु गर्नुभएको छ । २१ हप्ते तालिममा बसेपछि व्यवसाय कसरी छनौट गर्ने, व्यवसाय गर्दा ध्यान दिनुपर्ने कुराहरु, समन्वय र सहकार्य कसरी गर्ने, आम्दानीको स्रोत कसरी बढाउन सकिन्छ भन्ने लगायत व्यावसायिक योजनाका विषयमा जानकारी पाएपछि आफुले तरकारी खेती सुरु गरेको श्रेष्ठले बताउनुभयो । उहाँ थप्नु हुन्छ, श्रीमान्ले विदेशमा कमाएको पैसा जोगाउन आफैले मेहेनत गरी कमाउनु पर्छ भन्ने सोचले यो टनेल बनाएकी हुँ ।
दुःख गरे नेपालमै पैसा कमाउन सकिन्छ भन्ने आत्मविश्वास बढेकोले व्यवसाय सुरु गरेको श्रेष्ठले बताउनु भयो । विदेशमा रहेका श्रीमान् छवीलाल श्रेष्ठसँग पनि सल्लाह गरेर खेती गरेको भन्दै उहाँले अब श्रीमान्लाई नै नेपाल फर्काएर सँगै व्यवसाय गर्ने सोच रहेको बताउनुभयो । घर परिवार सबै मिलेर काम गर्दा आम्दानी पनि हुने र पारिवार पनि खुसी हुने भएकोले अब व्यावसायिक हिसाबले काम गर्ने बताउनुभयो । एक पटक निर्माण गरेको टनेल २० बर्ष सम्म प्रयोग गर्न सकिने श्रेष्ठले बताउनुभयो । वित्तीय साक्षरता कक्षामा बसेपछि फजुल खर्च घटाउन थालेको र बचतमा बृद्धि गर्न थालेको पनि बताउनुभयो । अब आफुले पनि नेपालमै कृषि व्यवासाय गरेर विदेशबाट आउने विप्रेषणलाई बचत गर्ने सोच रहेको बताउनुभयो । घर खर्च, पढाई खर्च, विरामी खर्च, चाडवाडमा समेत आफैले कमाएर खर्च गर्ने भन्दै उहाँले दुःख गरेर विदेशमा कमाएको पैसा घर खर्चमा प्रयोग नगर्ने बताउनुभयो ।
उमेरले भर्खर ३६ बर्षकी सरितालाई कृषि व्यवसाय गर्ने हुटहुटी चलेको छ । सरिताले यसअघि पनि तरकारी खेतीबाट थोरै थोरै आम्दानी लिँदै आउनुभएको थियो । तरकारी खेतीमा रुची भएको र वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाले उर्जा थपेकोले लाखौँ रुपैँयाको लगानी गरेर कृषि व्यवसाय सुर गरेकी हुँ ,उहाँ भन्नुहुन्छ । वित्तीय साक्षरता कक्षाले बचत गर्ने बानी मात्रै होईन आम्दानी गर्ने बाटो पनि देखायो, उहाँले भन्नुभयो, पैसाको सहि प्रयोग र आम्दानीको स्रोत पत्ता लागाए गरिव हुनु नपर्ने रहेछ । वित्तीय साक्षरता कक्षामा बसिसकेपछि बचत र आम्दानीको हिसाब किताब गरेर योजना बनाई काम गरेको बताउनुभयो । उहाँले वित्तीय लक्ष्य पनि बनाउनु भएको छ । उहाँको वित्तीय लक्ष्य अनुसारका लक्ष्यहरु पूरा गर्न महिनाको २० हजार बचत गनुपर्ने भएकोले आफुले मासिक २० हजार जम्मा गरेर अहिले टनेल निर्माणमा खर्च गरेको बताउनुभयो ।

