वित्तीय साक्षरता कक्षाबाट ब्यबसायी बन्नुभएकी अम्बिका

आजकल बर्दिबास नगरपालिका वडा नम्बर ३ बस्ने अम्बिका रायमाझीका दिनचर्या फेरिएका छन् । पैतीसौ वर्ष दुःख गर्दै दिन कटाउनु भएकी अम्बिकाको जीवनमा नसोचेको परिवर्तन आएको छ । दुई छोरा, एक छोरीकी धनी अम्बिकाको जीवनमा पैसाले संकट सँधै आईरहृयो । भनेजस्तो खान र लाउन समेत नपाउनु भएकी अम्बिकाको पैसा आउने बाटो थिएन । रातदिन अभाव बढ्दै जान थलोपछि उहाँको श्रीमान् हरि कतार जानुभयो । कतार जान ३ बर्षअघि हरिले २ लाख साहुसँग ऋण लिनुभयो । श्रीमान् कतार पसेपछि अम्मिकाका काँधमा जिम्मेवारी थपिए । घरको मुली त हुनुभयो नै गाउँठाउँमा सारो गाह्रो पर्दा समेत आफै जानुपर्ने अवस्था बन्यो उहाँको लागि ।
कतारमा बस्न हरिलाई पनि सुख थिएन, साहुबाट लिएको ऋणको झल्को, स–साना केटाकेटीको सम्झना, प्राण भन्दा प्यारी श्रीमतीको मायाको अभाव । यी सवै चिज गुमाएर कमाएको पैसाले साहुको ऋण तिर्न ६ महिना लाग्यो । छोराछोरीको लागि आमा र बावु भएर बस्नु भएकी अम्बिकालाई पनि श्रीमान् बिनाका दिन एक्ला लाग्थे । परिवारमा सुखका दिन आउने सम्झेर परिवारको जिम्मेवारी बुझेर भगवान पुकारेर बस्नु हुन्थ्यो उहाँ । यसरी जस्तोसुकै परिबेशमा पनि हरेश नखाई आफ्ना दिन कटाउँदै हुनुहुन्थ्यो अम्बिका दम्पती ।
२०७९ सालको पुषको जाडो महिना । बर्दिबास नगरपालिकाले उहाँको वडामा वित्तीय साक्षरता कक्षा चलाउने भयो । डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा वडा नं.३ मा कुशेश्वर वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा गठन भयो । कक्षामा सहभागी भएपछि पारिवार सल्लाह गरेर काम गरेदेखि मनमुटाब नहुने, छोराछोरीलाई ठूलो स्वर गर्नुको सट्टा फकाईफुल्याँई उनीहरुले सक्ने कामको जिम्मेवारी बाँडफाँड गर्ने बानी गर्न सके आफैंलाई सजिलो हुने थाहा पाउनुभयो । परिवारमा कति आम्दानी खर्च भएको छ ? त्यसको हिसाब लेखेर राखेमा आम्दानी र खर्चको लेखाजोखा गर्न सजिलो हुने कुरा थाहा पाउनुभयो । यो बानीले आजभोली उहाँको घरमा हुने खर्च घटेको छ । कुन् शिर्षकमा कति खर्च भयो भन्ने कुरा थाहा पाउने हुँदा खर्चको बर्गिकरण गर्न सजिलो भएको बताउनुहुन्छ उहाँ ।
वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बस्न थालेपछि उहाँले जीवनमा पैसाको महत्व कति हुन्छ भन्ने थाहा पाउनु भयो । पैसाको महत्व बुझेपछि उहाँले आफूमा भएका स–साना वित्तीय व्यवहारहरुमा समेत परिवर्तन ल्याउनु भएको छ । कक्षामा आफूले जानेका कुराहरु श्रीमान्सँग छलफल गर्ने गरेको बताउनु हुन्छ उहाँ ।
अम्बिकालाई पनि आफैंले पैसा कमाउन पाए हुन्थ्यो भन्ने सोच मनमा आउन थालेको छ । कक्षामा हरेक हप्ता नियमित आउनुहुने उहाँ कक्षा सुरु भएदेखि कक्षा नसकिउञ्जेल सम्म ध्यान दिएर सुन्ने गर्नुहुन्थ्यो । सहभागीको अनुशासनलाई हेरेर नम्वर दिने हो भने पनि उहाँले पहिलो नंम्बर पाउनु हुन्थ्यो । विदेश जानेले रुखबाट पैसा टिपेर पठाउने हैन रहेछ भन्ने थाहा पाएपछि श्रीमान्ले पठाएको पैसालाई जोगाइदिन सके मात्र पनि सहयोग पुग्ने रहेछ भन्ने सोच्न थाल्नु भयो । यही सोचाईले उहाँलाई २÷३ दिन निन्द्रा परेन । आफूले सोचेको कुरा श्रीमान्लाई पनि सुनाउनु भयो । श्रीमान्ले पनि उहाँलाई कक्षामा नियमित रुपमा जानु भनी सल्लाह दिनुभयो । उहाँ श्रीमान्को हौसलाले झन् बढि सक्रिय हुनुहुन्थ्यो ।
घर चलाउन श्रीमान्को कमाई भन्दा बाहेकको आम्दानी के हुन्छ भनी सोच्ने अम्बिकाले घरमा ८ वटा बाख्रा र एउटा भैंसी पाल्नु भएको थियो । तर तिनै पालेका भैंसी र बाख्राले दिएको आम्दानीले घर चल्छ भन्ने चाँहि सोच्नु भएको थिएन । बस्तु, बाख्रालाई घाँस पानी सकेर दिन कटाउन मोवाईलमा फेसबुक चलाएर बस्नु हुन्थ्यो उहाँ । कक्षामा बसेपछि आम्दानी बढाउनका लागि व्यवसाय विस्तार गर्ने कुराको छलफल भयो । कक्षामा भएको छलफलपछि उहाँ मोवाईल नचलाउने र फुर्सदको समयमा कुखुरापालन व्यवसायमा लाग्ने निर्णय लिनुभयो । कुखुरा पाल्नको लागि श्रीमान्सँग सल्लाह गर्नुभयो । उहाँले श्रीमान्को सल्लाहमा २०८१ सालको बैशाख महिनाबाट श्रीमानले पठाउनु भएको १ लाख १० हजार रुपंैयाँ लगानी गरी आफ्नै घरमा सानो खोर बनाएर १ सय कुखुराको चल्लाबाट कुखुरापालन सुरु गर्नु भयो ।
मानिसको शरीरले सुख खोज्छ, सुखले फेरी रोग जन्माउँछ । घरमा बसेर बोसो थपिएला तर बल र जवानीले साथ छोड्दै जान्छ । आफूले गर्ने काम सानो ठूलो हुँदैन । ईमान्दार भएर गरेको कामले सम्मान दिन्छ । यसरी फेरिएको मनले अम्विकालाई व्यावसायी बनाएको छ । आफूले पालेका कुखुराबाट उहाँले २०८१ असारमा ३० हजार कमाउनु भयो । आफैंले विवेक प्रयोग गरेर पहिलो पटक गरेको लगानीबाट कमाएको ३० हजारले उहाँलाई श्रीमान्ले हरेक महिना पठाएको पैसाले भन्दा धेरै सन्तुष्टि दियो । व्यवसायबाट नाफा लिएपछि उहाँलाई विदेशको दुःखबाट विस्तारै श्रीमान्लाई घरदेश बोलाउन सक्छु भन्ने हौसला समेत मिल्यो । कुखुरापालन व्यवसायबाट कमाएको पैसाबाट उहाँले घर ब्यबहार चलाउन पनि खर्च गर्नुभयो । फेरी बाँकीले अर्को लटका लागि चल्ला किन्नुभयो । यो पटक उहाँले ५० वटा चल्ला थप गर्नु भयो । उहाँलाई अझैपनि कुखुरा थप्न पाए हुन्थ्यो भन्ने लागेको छ । तर बेला वेला आउने रोगव्याधिले व्यवसायमा जोखिम हुने कुरा पनि कक्षा मार्फत् बुझ्नु भएको छ । पहिले कहिले महिना पुग्छ र श्रीमान्ले पैसा पठाउनु हुन्छ भनी आशामा बस्ने अम्बिका आजकल आफै कमाउन सक्ने हुनुभएको छ । श्रीमान्ले कतारमा कमाएर हरेक महिना पठाएको चालिसदेखि पचास हजार रुपैंया खातामा नै बचत भई रहेको छ । आफूले अहिले गरेको बचतले नै भबिष्य सुरक्षित हुन्छ भन्ने अम्विकाले विस्तारै श्रीमान्लाई घरदेश बोलाउने सोच्नु भएको छ । यसरी आफैंमा परिवर्तन ल्याएर सम्पन्न बन्दै जानु भएकी अम्विका आजभोली हाँसीखुशी देखिनुहुन्छ ।
