Donate for a Good Cause

वित्तीय साक्षरताले आत्मबिश्वासी हुनु भएकी प्रमिलाको कथा

वित्तीय साक्षरताले आत्मबिश्वासी हुनु भएकी प्रमिलाको कथा

असार महिनाको बर्षे झरी झमझम पानी परिरहेको पानी, पानीमा भिजेरै भएपनि प्रमिलालाई आज बजार जानु छ । किनकी उहाँलाई आफूले देखेका सुन्दर सपनाहरु साकार पार्नु छ । अनि छोराछोरीको भबिष्य उज्ववल बनाउनु छ । हरेक हप्ताको आइतबार, मंगलबार र बिहिबार बिहानको समयमा जहिले कामको चटारो हुन्छ प्रमिलालाई । दुई छोरा अनि दुई छोरीलाई खाना खुवाएर हतार हतार स्कुलको लागि तयार पार्नुहुन्छ र घर धन्दा सकेर चप्पल बेच्नका लागि बजार निस्कनु हुन्छ ।

सप्तरीको कन्चंरूप नगरपालिका वडा नंम्बर ७ बस्ने प्रमिलादेबी खंग २६ बर्ष को हुनु भयो । तर जिन्दगी उमेरले हैन अनुभबले चलाई रहनु भएको थियो । जिम्मेवारीले उहाँलाई २६ बर्षकी मात्र हुन दिएको छैन । किनकी ४ जना छोराछोरीको जिम्मेवारी उहाँको काधमा छ । श्रीमान् दुई बर्ष अघि कमाउनका लागि परदेशिनु भयो । विदेश जानका लागि उहाँसँग पैसा थिएन । साथीभाई र आफन्तसँग सय कडा तीन ब्याज बुझाउने शर्तमा रु. १ लाख ५० हजार ऋण लिएर ओमान जान तयार हुनुभएका श्रीमान्लाई उहाँले नजानु भनेर रोक्न सक्नु भएन । रोक्नु पनि कसरी प्रमिलाले घरको गरीवी, छोराछोरीप्रतिको जिम्मेवारी सम्झनु भयो । छोराछोरीको लागि प्रमिलाले देखेका सपना सुनौला थिए । त्यही सुनौला सपनाले श्रीमान्को बाटो छेक्न सकेनन्, आँखाका डिलसम्म आँसु पार्दै भन्नुहुन्छ प्रमिला ।  

श्रीमान् विदेश गएपछि परिवारको आर्थिक अबस्थामा फेरिने कुराले प्रमिला दंग हुनुहुन्थ्यो तर श्रीमान् घरमा नहुँदा परिवार, इस्टमित्र, चाडपर्व, मेलापात र अर्मपर्म समेतको जिम्मेवारी उहाँकै काँधमा थपियो । प्रमिला ती जिम्मेवारीबाट भाग्नु भएन बरु डटेर सामना गरिरहनु भयो ।

श्रीमान्ले परदेशमा सोचे अनुसारकै काम पाउनु भयो । काम र दाम भने अनुसारकै हुँदा श्रमिान्ले हरेक महिना ३० हजार रुपैंया पठाउनु हुन्थ्यो । तर आएको पैसा विदेश जाँदाको ऋण तिर्न मात्र ठिक्क हुन्थ्यो । विदेश जाँदा लिएको ऋणको साँवा र व्याज तिर्न प्रमिलालाई ७ महिना लाग्यो । सुरुमा ऋणको चिन्ता बोकीरहने प्रमिलालाई ऋण तिरी सकेपछि भने मन शान्त भयो । विदेशबाट आएको पैसाले छोराछोरीको ईच्छा पूरा गर्न पाएकोमा प्रमिलापनि  मख्ख हुनुहुन्थ्यो ।

     प्रमिलाको घरमा हरेक महिना बिदेशबाट पैसा आउथ्यो । पैसा आएपछि अभाव हुने कुरै भएन । यत्तिकैमा कन्चंरूप नगरपालिकाले सामी हेल्भेटास तथा डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा बैदेशिक रोजगारमा रहेका परिवारका लागि पैसाको महत्व बुझाउन र बचतको लागि प्रोत्साहन गर्दै परिवारको रोजीरोटीको लागि बिदेश नै  जानु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन गर्न लागेको कुरा उहाले पनि थाहा पाउनु भयो । २०७९ साल कार्तिक महिनादेखि गाउँमा चलेको कक्षामा प्रमिला पनि सहभागी हुनुभयो ।

 वित्तीय साक्षरता कक्षामा सहभागी भईसकेपछी बल्ल प्रमिलालाई घरव्यवहारका कुराहरुमा धेरै पछि परेको रहेछु भन्ने महसुस भयो । छोराछोरीलाई पढाई सँगसँगै  घरको काम पनि सिकाउनु पर्ने रहेछ । परिवारमा सवै जनाले मिलेर काम गर्न सके एकजनालाई मात्र बोझ नहुने रहेछ भन्ने लाग्यो, जुन कुरा पहिला महसुस भएकै थिएन भन्नु हुन्छ उहाँ । कक्षामा बसेपछि परिवारमा छलफल गरेर मात्र आफूले आँटेको काम गर्नु पर्ने रहेछ भन्ने थाहा पाउनु भयो । प्रमिलाले आजभोली परिवारको आम्दानी खर्चको हिसाब लेखेर राख्नु भएको छ । उहाँले घरमा हुने गरेको आर्थिक कारोवारको हिसाव श्रीमान्लाई पनि सुनाउनु हुन्छ भने कक्षामा छलफल गरिएका कुराहरु साँझ श्रीमान्लाई बेलीविस्तार लाउनुहुन्छ । कक्षामा आउनुपूर्व घर खर्च गर्दा गर्दै पैसा सकिएको थाहा नपाउने प्रमिलाले आजभोली घर नजिकैको सहकारी संस्थामा खाता खोलेर भबिष्यका लागी भनेर महिनाको २ सय रुपैंया बचत सुरु गर्नु भएको छ । 

     बिश्वास भन्दा ठुलो अर्को कुनै भगवान हँुदैन, अर्को कुनै पुजा हुदैन, हो त्यही बिश्वासलाई  आत्म बिश्वासमा परिणत गरेर प्रमिलाले आम्दानीका लागि केहि न केहि गर्ने सोच बनाउनु भयो । घरदेशमै आफूले केहि गर्न सकेमा आफैले दुईचार सय आम्दानी गर्न सकेमा श्रीमान्लाई पनि आर्थिक भार घट्छ भन्ने कुरा कक्षामा आएपछि थाहा पाउनु भयो । कृषि कर्म गर्न आफ्नो स्वामित्वमा जमिन थिएन । अरु काम गरेर पैसा कमाउन उहाँसँग लगानी गर्ने धेरै पैसा पनि थिएन । अनि अर्को मनले परिवारको सपना पूरा गर्नकै लागि श्रीमान्लाई कति समयसम्म बिदेशमा राख्ने ? यस्ता प्रश्नहरुको उत्तर भेट्नु भएन प्रमिलाले ।

अव प्रमिलाको ध्यान कमाउनका लागि के गर्ने भन्नेमा मात्र थियो । सँधै झैं साँझ श्रीमान्सँग फोनमा कुरा भयो । अरु दिनको भन्दा त्यो दिनको कुराकानी फरक थियो । किनकी त्यो दिन कमाउनका लागि के पेशा समात्ने भन्ने चिन्ता थियो प्रमिलालाई । श्रीमान्सँग व्यवसाय गर्ने बिषयमा कुराकानी त भयो तर के गर्ने भन्ने कुरोको चुरो निस्किएन । बजारको माग बुझ्दा जुत्ता चप्पल राम्रो बिक्रि हुने छनक पाउनु भयो प्रमिलाले । अर्को दिन फोनमा श्रीमान्लाई सानो लगानी गरेर हाट बजारमा चप्पल बिक्री गर्न सल्लाह गर्नुभयो ।  गाउँ नजिकैको हप्ताको ३ दिन हाट लाग्थ्यो । आइतबार, मंगलबार र बिहिबार लाग्ने हाटमा लगेर चप्पल बेच्नु थियो प्रमिलालाई । प्रमिलाले श्रीमान्ले विदेशबाट पठाउनु भएको पैसाबाट ५० हजार लगानी गरेर बजारमा चप्पल बेच्न सुरु गर्नु भयो ।

     भगवानले पनि तँ आँट म पुर्याउँछु भन्छन् रे । घरदेखि बोरामा सामान बोकेर बिक्रीका लागि बजारसम्म लानुपर्दा गाह्रो भयो भने बजारमा सवै गाउँका मान्छे भेट हुने हुँदा लाज पनि लाग्यो प्रमिलालाई । व्यापार गर्न सुरु सुरुमा त गाह्रो भयो तर अर्को मनले भन्थ्यो गरी खानलाई केको लाज ? उहाँ हरेक हप्ता बजारमा सामान बिक्रीका लागि जानुहुन्थ्यो ।

प्रमिलाले सोचेजस्तै व्यापार गर्दा प्रत्येक हाटमा ६ देखि ७ सय रुपैंया सम्म फाइदा हुन थाल््यो । गाउँमा खर्च पनि कम हुने हुँदा घरखर्चको लागि चाहिने पैसा आफैले कमाउन थाल्नु भयो । छोराछोरीहरु बोर्डिङ स्कुलमा पढाएको हुँदा श्रीमान्ले बिदेशमा कमाएको पैसाले छोराछोरीको स्कुल फि मात्र तिर्नुहुन्थ्यो, उहाँ । 

      पहिले आर्थिक कारोवारका लागि बैंक खाता समेत नभएकी प्रमिलाले व्यापार सुरु गरेपछि कक्षामा भने जस्तै गरी माछापुछ«्रे बैंकमा खाता खोल््नु भयो । आजभोली उहाँको श्रीमान्ले विदेशबाट त्यही खातामा महिनाको ३० हजार जम्मा गरिदिनुहुन्छ । छोराछोरीको स्कुलको खर्च र औषधोपचारको लागि महिनाको १५ हजार जति खर्च हुन्छ ।  बाँकी १५ हजार बैंक खातामा नै जम्मा हुन्छ । नजिकैको बजारमा घडेरी किन्ने सपना देख्नु भएकी प्रमिलाले घडेरी किन्नकै  लागि भनेर रु ५० हजार त्यही बैंकको मुद्दती खातामा जम्मा गर्नुभएको छ । उहाँ आफैंले कमाएको पैसाबाट घर खर्च चलाएर पनि महिनाको २ हजार ४ सय रुपैंया सहकारी संस्थामा समेत बचत गर्न थाल्नु भएको छ । उहाँले हरेक महिना कति कति पैसा कहाँबाट आउँछ र कँहा कँहा कति पैसा खर्च हुन्छ भनी सवै विवरण पासबुकमा भरेर राख्ने गर्नुभएको छ । त्यतीमात्र नभएर हिजो सम्म घरव्यवहारमा मात्र व्यवस्त हुने प्रमिला सामाजिक रुपमा पनि सक्रिय हुन थाल्नु भएको छ । आजभोली उहाँलाई २÷४ जना मान्छेका अगाडी बोल्न समेत आत्मविश्वास बढेको छ ।

दिनभरी गाउँले दौतरीहरुसँग गफमा भुलेर बस्ने प्रमिलाको दैनिकी फेरिएको छ । उहाँलाई आफ्नै बिगत सम्झँदा समयलाई व्यर्थै खेर फ्याँले भन्ने लाग्छ । त्यसरी दिनभरी गफ गरेर घाम कटाएकोमा पछुतो छ, उहाँलाई । बेलैमा समय र पैसाको महत्व बुझ्न सकेको भए आजको दुःख भोली सुख हुने रहेछ भन्नु हुन्छ उहाँ । आफुलाई अहिलेको यो अवस्थासम्म ल्याई पु¥याउनको लागि वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाले ठुलो भूमिका खेलेको छ । आजकल उहाँले सबै छोराछोरीलाई एउटारएउटा खुत्रुके किनिदिनु भएको छ । छोराछोरीले पनि पसलमा खर्च गर्ने पैसा जोगाएर बचत गर्न सिकी सकेका छन् ।  अब यहि महिना एउटा साइकल किन्ने लक्ष्य रहेको छ । भबिश्यमा उहाँको सपना श्रीमान्लाई घरदेशमै बोलाएर बजारमा एउटा पसल चलाउने र सहरमा एउटा घडेरी  किन्ने रहेको छ ।

कुनै पनि लक्ष्य स्पष्टसँग निर्धारण गर्नु भनेको त्यस गन्तब्यको बाटो बिराउने सम्भाबनालाई तोडेर उक्त लक्ष्य को आधा बाटो सम्म पुग्नु बराबर हो । जिन्दगी मा कि मन परेको काम गर कि गरेको काम लाई मन पराउ । गरे के हुन्न र भन्ने एउटा उदाहरणीय पात्र बन्नु भएको छ प्रमिला ।