बिदेशिएका श्रीमान् वित्तीय साक्षरता कक्षाको ज्ञानले फर्कायो ।
![बिदेशिएका श्रीमान् वित्तीय साक्षरता कक्षाको ज्ञानले फर्कायो ।](https://deprosc.org.np/wp-content/uploads/2024/07/deprosc-success-story-1.jpg)
सर्लाही भन्ने वित्तीकै मधेसी समुदायको मानिसहहरुको बसोवास रहेको क्षेत्र हो भन्ने बुझिन्छ । तर सर्लाहीको हरिवन नगरपालिका सवै जातजातीको बसोवास रहेको ठाउँ हो । व्लोन तामाङ्ग जातीको एउटा थर हो । जुन जातीको यस ठाउँमा उल्लेख्य बसोबास रहेको छ । व्लोन जातीहरुको पुख्र्यौली पेशा कृषि नै हो । कृषिमा आश्रित हुने यस समुदायमा पछिल्लो समय बैदेशिक रोजगारीले कृषिमा आश्रीत हुने भन्दा कमाउन विदेश जाने लहर चलेको छ । जसको कारण भएका जमिनहरु बाँझिने क्रम बढेको छ भने यूवाहरुको कृषिमा संलग्नता घट्दै गईरहेको छ ।
गाउँबाट बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दो छ । सामाजिक संस्कार र संस्कृतिहरु झन् भड्किला बन्दै गईरहेका छन् । मानिसको खर्च गर्ने क्षमता बढेको भएपनि भड्किलो जीवनशैलीका कारण भविष्यमा जुनसुकै बेला पनि आर्थिक दुर्घटना हुन सक्ने अवस्था रहेको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं.७ को गोले टोलमा बस्नुहुन्छ टिकामाया व्लोन । उँहाको उमेर ३६ वर्ष भयो । परिवारमा श्रीमान्, २ छोरा र उहाँ गरी ४ जना हुनुहुन्छ । कमाउन परदेश लाग्नु भएका उँहाको श्रीमान् युएईमा बस्नु हुन्थ्यो । ३ बर्ष युएई बसेर उहाँ गाउँ फर्कनु भयो । श्रीमतीलाई असाध्यै माया गर्ने श्रीमान् परदेश लागेपछि बच्चाहरुको हेरचाह गर्नु भन्दा बाहेक दुःख नगर भन्नुहुन्थ्यो । बरु दुःख मै गरौंला तिमीहरु सुखले बस्नु भनेपछि टिकाका नौनारीले काम गर्ने कुरा अह्राएनन् । श्रीमान्का कुराले खेतबारी बाँझिए, खेतमा झार उम्रिए तर टिकामा जाँगर उम्रिएनन् ।
हरिवन नगरपालिकाले सुरक्षित आप्रवासन(सामी) कार्यक्रम संचालन गरिहेको थियो । कार्यक्रमले टिकाको गाउँमा परदेश जानेका परिवारका सदस्यहरुलाई राखेर वित्तीय साक्षरता तथा मनोपरामर्श शिक्षा दिने भयो । उहाँका श्रीमान् विदेशमा भएको कारण टिकालाई पनि कक्षामा बस्ने अवसर आयो । दिनभरी घरमा मोवाईल चलाएरै बस्ने टिकालाई कक्षाको निहु गरेर आए गाउँभरीका दिदीबहिनीहरुसँग रमाईलो गरेर दिन कटाउन पाईन्छ भन्ने भन्दा बाहेक अरु केहि सोच आएको थिएन । त्यही सपना पूरा गर्न उहाँ कक्षामा आउने भनेंकी थिँए हाँस्दै उहाँ सुनाउनुहुन्छ ।
टिकामाया व्लोन कक्षामा नियमित आउनुहुन्थ्यो । आफूले पनि विद्यालयको शिक्षा पाएको कारण कक्षामा हुने गरेका छलफलहरु सजिलै बुझ्नु हुन्थ्यो । तर कक्षा उहाँले पहिले सोचे जस्तो थिएन । उहाँले आफूले गरेको रुपैंयाँ पैसाको कारोबार सम्झँदै जान थाल्नु भयो । कक्षामा भनिए झैं थिएनन् । बल्ल उहाँले कक्षाको महत्वको बारेमा जान्न थाल्नु भयो ।
कक्षामा बस्दा विदेशको कमाई बर्षे भेल जस्तै हुने रहेछ भन्ने थाहा पाउनु भयो । जसरी बर्षे खोला बर्षाद्भरी बग्छ त्यस्तै परिवारको सदस्य विदेश छउञ्जेल मात्र पैसा आउने हो भन्ने लागेपछि बर्षौदेखि नलागेको घैंटोमा घाम लागेको बताउनुहुन्छ उहाँ । यसरी एकजनाले विदेशमा बसेर कमाएको पैसाले कतिदिन घर चल्छ ? र कहिले श्रीमान् फर्कन सक्नु हुन्छ भन्दा मन एकहोरो भएको समेत अनुभव छ टिकासँग ।
बर्षौदेखि नसोचेको कुरा कक्षामा बसेपछि सोच्न बाध्य भए । कक्षामा सोचेको कुराले रात विग्रियो, निन्द्रा परेन । मनले रातभरी पैसा कमाउने काममा किन लागिनस् भनेर प्रश्न गरिरह्यो । मसँग पनि जवाफ थिएन उहाँ अनुभव सुनाउनुहुन्छ ।
रात वित्यो । उज्यालो भयो । श्रीमान्लाई आफूले सोचेका कुरा सबै सुनाए । मेरो मन हलुँङ्गो भयो । उहाँले श्रीमान्लाई विदेश जाने बाटो बन्द भए हाम्रो घर कसरी चल्छ ? भनेर सोध्नु भयोे । श्रीमान्सँग पनि यसको जवाफ थिएन । धेरैपछि अब आम्दानी लिने बाटो बनाउनु पर्छ भन्ने जवाफ फर्काउनु भयो । यो कुराले श्रीमान्लाई समेत सोच्न बाध्य बनायो ।
हिजोसम्म दुःख नगरी बस भन्ने श्रीमान्ले खेती गर्नु भन्न थाल्नु भो । मलाई पनि के खोज्छस् कानो आँखो भनेजस्तो भो । श्रीमान्ले खेतीपातीका लागि घरखर्च बाहेक छुट्टै पैसा पठाईदिनु भयो । खनजोत गरीे खेतमा मकै, चना, मुसुरो र तोरी फलाउनु भयो । धेरै बर्षपछि लगाएको बालीले टिकामायालाई सन्तुष्टी मिल्यो । तोरी र मकै पहिलेभन्दा धेरै फल्यो । मकै र तोरीको बिक्रीबाट उहाँले ६५ हजार कमाउनु भयो । उँहाले परिवार ब्यवस्थापनको बारेमा कक्षामा सिकेका कुरा परिवारमा पनि लागु गर्नु भएको छ । टिकामाया खेतको काममा जाँदा २ छोराले घरको सबै धन्दा मिलेर गर्छन् । उँहाले पहिले २ छोराको नाममा महिनाको २–२ सय रुपैंयाँ बाल बचत गर्नुहुन्थ्यो भने अहिले गरिराखेको बचतलाई बढाएर मासिक ५–५ सय पुर्याउनु भएको छ ।
उहाँ आफैले कमाएको पैसाले घर चलाउन सक्ने हुनु भएको छ भने बिदेशको कमाईलाई जोगाउन राख्न थाल्नु भएको छ । आफूले पनि बाख्रापालन गरेर राम्रो आम्दानी लिन सक्ने देखेर उहाँले १० वटा बाख्रा पाल्नु भएको छ । दैनिक रुपमा हुने खर्च टिपोट गर्ने बानी बसेको छ । जसले गर्दा अनावश्यक खर्चहरु घटाउन समेत सजिलो भएको छ, टिकामायालाई ।
श्रीमान् र श्रीमतीको सँधै राम्रो सम्बन्ध नहुन पनि सक्छ तसर्थ आफूले गर्ने रुपैंयाँ पैसाको कारोबार प्रष्ट र पारदर्शी हुनुपर्छ भन्ने लाग्छ । यसरी घर व्यवहार चलाउन सके मात्र श्रीमान् श्रीमतीमा पनि बिश्वास बढ्ने रहेछ भन्नुहुन्छ उहाँ । भाकै छ चलेकै छ भन्ने लाग्ने टिकामायाको आजभोलीको व्यवहार फेर्न वित्तीय साक्षरता कक्षा गुरु भएको बताउनु हुन्छ ।
घरकी देवी वा लक्ष्मी भनेकी गृहिणी हुन् । घरलाई कस्तो बनाउने घरको गृहिणीको हातमा हुन्छ । समाज र परिवारबिचको सम्वन्ध कस्तो बनाउने? र परिवारबीचमा कसरी समन्वय गर्ने भन्ने कला वित्तीय साक्षरता कक्षामा गएर जानेकी हुँ । उहाँ भन्नुनुहुन्छ ।
परिवारका सदस्यहरुबीचको समन्वय र सम्बन्धलाई प्रगाढ बनाउन कक्षाले अहम् भूमिका खेलेको छ । अझ त्यो भन्दा पनि ठूलो कुरा यस कक्षाले हामी महिला दिदी–बहिनीहरुभित्र लुकेर बसेको व्यवसायिक गुणलाई समेत उजागर गरेको छ । कक्षाले हामीलाई परिवार र समाजबाट समान्नित हुन सिकाएको छ । मेरो र मेरो परिवारको लागि गौरवको क्षण त्यतिबेला भएको थियो जतिबेला हाम्रो हरिवन नगरपालिकाको नगर प्रमुखज्यू हाम्रो काम र मिहेनत हेर्न हाम्रो घरमा आउनुभयो । उहाँ घरमै आएर तँपाईहरु नगरको सपनासँग जोडिनु भएकोमा तँपाईहरु स्याबासीका पात्र बन्नु भएछ भन्दा थप हौसला मिलेको बताउनु हुन्छ टिकामाया व्लोन ।
टिकामायाका श्रीमान् पहिला बिदेशबाट आएको केही दिन नवित्दै फर्कने दिन गन्नुहुन्थ्यो । अहिले उहाँलाई फर्कन हतार भएन । बारीमा सिजन अनुसारको बाली । घरका किलामा रहरलाग्दा बाख्रा । टिकामायाका श्रीमान् फर्किएको छ महिना बितिसकेको छ । यसरी गाउँ आएर बस्नु भएका श्रीमान् विदेश जाने बारेमा नसोच्नुमा मेरै पौरख होला भनेर चित्त बुझाउँछु । श्रीमान् यहाँ हुँदा झन् खेती मौलाउँदै गएको छ भने बाख्रा पनि रहर लाग्दा हुँदै । अव हामी दुवै मिलेर गरिरहेको व्यवसायलाई झन् मजबुद बनाउँदै जान्छौं । टिकामाया थप्नुुहुन्छ ।