Donate for a Good Cause

पैसा कमाउन भन्दा पैसा बचाउन जान्नु पर्छ ।

पैसा कमाउन भन्दा पैसा बचाउन जान्नु पर्छ ।

पैसा नहुँदा पैसा नै ठूलो लाग्ने सीतालाई आजभोली पैसा भन्दा पैसा आउने बाटो समात्न सक्नु चाँही ठूलो कुरा लाग्न थालेको छ । कमाएको पैसाको सहि व्यवस्थापन गर्न सकिएन भने पैसा हुनु र नहुनेले कुनै अर्थ राख्दैन भन्नु हुन्छ उहाँलाई । तर वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षाले पैसा कमाउने र पैसाको व्यवस्थापन गर्न सिकाएकोमा दंग हुनुहुन्छ, सीता ।

            सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं. ५ लेखपोखरा, सेतामारे बस्ने सिता बस्नेतको उमेर २९ बर्ष भयो । कक्षा ८ सम्म मात्र पढ्न पाउनु भएकी सीताको परिवारमा ससुरा, श्रीमान्, छोरी र छोरा गरी ५ जना हुनुहुन्छ । सीताका श्रीमान् कमाउन साउदी अरब जानु भएको  १ बर्ष भयो । उहाँ साउदीको कम्पनीमा काम गर्नुहुन्छ ।

सानै उमेरमा विवाह बन्धनमा बाँधिनु भएकी सीतालाई श्रीमान्को साथ नपाउँदा एक्लै भएको जस्तो महसुस हुन्छ । तर गाउँबाट अरुपनि छोराछोरी र श्रीमती छोडेर परदेश गएको देख्दा उहाँले पन िआफ्नो मनलाई बुझाउन सक्नु भएको छ ।

सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिकाले बैदेशिक रोजगारीलाई सुरक्षित, विश्वासिलो र लाभदायक बनाउने उदेश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संचालन गरिरहेको छ । सामी कार्यक्रमको सामाजिक परिचालक मार्फत् उहाँले बैदेशिक रोजगारीमा रहेका परिवारका लागि वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा संचालन हुन लागेको कुरा थाहा पाउनु भयो । उहाँलाई कक्षा चल्ने कुरा सुन्दा कागलाई बेला पाक्यो हर्ष न बिस्मत भनेजस्तै लागेको थियो । घरधन्दामा व्यस्त हुनुपर्ने

भएको हुँदा उहाँलाई कक्षामा आउने समय मिलाउन गाह्रो थियो । कक्षाको बारेमा थाहा पाएपछि उहाँलाई पनि हेर्नैको लागि भए पनि एकपटक पुग्छु भन्ने लाग्यो र उहाँ २०८० भदौ २७ गते कक्षा चल्ने ठाउँमा आउनु भयो ।  सहजकर्ताले कक्षामा विदेशमा गएका परिवारको सदस्यलाई कसरी सुरक्षित बनाउन सकिन्छ? भन्ने बिषयमा छलफल गर्नुभयो । घरका मान्छेले विदेश बस्नेको कागजपत्र सुरक्षित राख्नुपर्छ भनेपछि उहाँ झस्कनु भयो । किनकी उहाँले श्रीमान् विदेश जाँदा तयार गरेको कागजपत्र आफूसँग राख्नु भएको थिएन । उहाँले कक्षाबाट फर्किएर घर गएर श्रीमान्लाई कागजपत्र पठाउन अनुरोध गर्नुभयो । श्रीमानले पनि सीताले भनेको मान्नुभयो । अहिले सीतालाई श्रीमान विदेशमा समस्या परे घरदेशबाटै सहयोग पुर्याउन सक्ने रहेछु भन्ने बिश्वास लागेको छ ।

पहिलो दिन कक्षामा आउँदा जानेको कुराले सीताको मन फेरियो । घरको काम पन्छाएर भने पनि कक्षामा आउने निर्णय लिनुभयो उहाँले । कक्षामा आएर जानेका कुराले अहिले उहाँको व्यवहार फेरिएको छ ।

    पैसाको प्रयोग र व्यवस्थापन गर्ने थाहा पाउनु भएकी सीताले वित्तीय लक्ष्य बनाउनु भएको छ । आफूले बनाएको वित्तीय लक्ष्य पूरा गर्न उहाँले सोहि अनुसारको बचत गर्न थाल्नु भएको छ । यसरी कक्षामा एकपछि अर्को गर्दै आफूलाई बदल्ने शिक्षा पाउँदै जानु भएकी सीताले व्यवसाय छनोटको आभ्यास गर्नु भयो । व्यवसायको छनोटको आधारमा सिताले थोरै लगानी, कम परिश्रम र छोटो समयमा नै धेरै आम्दानी लिन सकिने व्यवसायको रुपमा चटपट र पानीपुरी पसल सञ्चालन गर्न सकिने निष्कर्शमा पुग्नु भयो । यहि निर्णयलाई सार्थक बनाउन उहाँले १ हजार ५ सय रुपैयाँ लागनी गरी २०८० चैत्र ९ गतेबाट चटपट पानीपूरी बेच्न सुरु गर्नुभयो । आफ्नै घरबाट चटपट र पानीपुरी बेच्दा उहाँले सोचेको जस्तै पैसा कमाई भयो । थोरै लगानीबाट सानो पसल चलाएर उहाँले गरेको आम्दानी लोभलाग्दो हुँदै गयो । 

सीताले पसल खोल्नु अघि घरधन्दा सवै सक्नु हुन्छ । त्यसपछि उहाँ दिनभर पसलको धन्दामा खटिनु हुन्छ । घरमै पसल भएको हुँदा परिआएका बखत घरका अरु धन्दा पनि भ्याउनु हुन्छ उहाँ । उहाँलाई आफूले दिनभरी पसलबाट कमाएको पैसाबाट रु २ सय रुपैंया वित्तीय संस्थामा जम्मा गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । अहिले उहाँ चटपट र पानीपुरी बेचेर सरदर २५० जति कमाउनु हुन्छ । त्यही पैसा घरव्यवहारमा पनि खर्च गर्नुपरेको हुदा उहाँले सोचेजति दैनिक बचत हुन सकेको छैन भन्नुहुन्छ । 

व्यापार व्यवसाय गर्नेले भविष्य सोचेर काम गर्नुपर्छ । थोरै लगानी गरेर कमाउन लाग्दा स्वास्थ्य बिग्रने भन्दा पनि सकेसम्म राम्रो बनाएर खुवाउनु पर्छ भनी उहाँले गाउँकै चुक हालेर चटपटे र पानीपुरी बनाउनु हुन्छ । यसरी बनाएको चटपटे सवैले मन पराउने गरेको सीताको अनुभव छ ।

आफूले चलाएको पसलबाट राम्रो आम्दानी हुँदै गएपछि सीताले आफूले कमाएको ४ हजार र विदेशबाट पठाएको १० हजार थप लगानी गरी २०८१ बैशाख ४ गतेबाट नास्ता तथा किराना पसल पनि चलाउनु भएको छ । उहाँको पसलमा आजभोली चाउमिन, चना, अण्डा लगायतका नास्ताका परिकार समेत पाईन्छन् । खाजा नास्तासँगै उहाँ चिसो पनि बेच्नुहुन्छ ।

 पानीपुरी, चटपटे, नास्ता र किराना पसलबाट आजभोली सिताले खर्च कटाएर ५ सयदेखि ७ सयसम्म कमाएको बताउनु हुन्छ ।  उहाँले हरेक महिना आकस्मिक कोषमा ५ सय बचत गर्न थाल्नु भएको छ । उहाँले महिनामा १५ हजार जति कमाउने भएको हुँदा घरखर्च समेत आफैंले कमाएको पैसाबाट चलेको छ भन्नुहुन्छ ।

 पहिले छोराछोरीलाई स्कुलमा पठाउने खाजा किन्ने समेत पैसा साथमा नहुने सीता आफैंले कमाएर घर चलाउन सक्ने हुनुभएको छ । घरखर्च मात्र हैन, उहाँले कमाएको पैसाले चाडबाड खर्च समेत टरेको छ, सीता भन्नुहुन्छ ।

सीताका श्रीमान् विदेश जानु अघि ब्रोइलर पाल्नु हुन्थ्यो । तर सोचेजति आम्दानी नभएपछि उहाँका श्रीमान् कृष्ण विदेश उड्नु भयो । व्यवसाय गर्ने मान्छे नै हिँडेपछि खोरमा कुखुरा मासिए । कुखुरासँगै व्यवसाय पनि मासियो । घरधन्दाले सीतालाई फुर्सद मिल्दैन थियो । तर उहाँलाई अहिले पनि थाहा छैन, श्रीमान्ले कुखुरापालेर कमाउनु भयो कि गुमाउनु भयो भन्ने कुरा ।

यसरी वित्तीय साक्षरता कक्षामा गएर आफ्नो तेस्रो नेत्र खुलेकोमा सीता दंग हुनुहुन्छ । आफू कमाउने भएपछि श्रीमान् विदेशमा खुशी र बुहारीले घरधन्दासँगै कमाएको पैसाले घरखर्च चलेपछि सासु ससुरा पनि खुशी र आफूले भने झैं खान र लाउन पाएपछि छोराहरुपनि खुशी छन् यतिबेला सीताको ।