पासबुक भर्न थालेपछि विश्वास र बचत दुबै बढ्यो ।
सुरुमा पासबुक भर्न अल्छि लाग्ने पबित्रा सुनारलाई पासबुक भरेपछि बैराग लाग्थ्यो । हरेक दिन हुने खर्चले मन आँतिन्थ्यो उहाँको । पवित्राको आम्दानी भनेको हरेक महिना श्रीमानले विदेशबाट पठाएको पैसा मात्रै हुन्थ्यो । कहिलेकाँही अन्नपात, कुखुरा, खसी बेचेर आउने पैसा हाता लाग्थ्यो भने अरु आम्दानी लिने कुनै श्रोत थिएन । आम्दानी भन्दा खर्च कयौँ गुणाले बढी हुन्थ्यो । कहिलेकाँही पबित्रालाई पासबुक हेर्दा मनमा चिसो पस्थ्यो । यसरी जीन्दगीमा कहिले प्रगति होला भनेर । उहाँ तर्सनुहुन्थ्यो, खर्च बढेको र आम्दानी घटेको देखेर । उहाँले पैसाको कारणले कयौँ घरमा श्रीमान्् श्रीमती र परिवार बीचमा विवाद र शंका भएको पनि थाहा पाउनु भएको थियो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर १४ को धुवाँकोटमा नीलकण्ठ नगरपालिकाले चलाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले मानेगाउँ वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा गठन गर्यो । डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा गठन भएको कक्षामा सहभागी हुनुभयो पबित्रा पनि । उहाँलाई कक्षामा बस्न थालेपछि खर्च व्यवस्थापन गर्ने हौसला मिल्यो भने काम गर्ने आँट पनि । उहाँलाई श्रीमान्ले विदेशमा कमाएको पैसाको फेहरिस्त हिसाव देखाउन नसक्दा संकोच लाग्थ्यो । अनि कहिलेकाँही आफूले पढेसुनेका कथाले मन झस्कन्थ्यो । पैसाको कारणले घर झगडा बढेको र श्रीमान्सँगको सम्बन्ध बिग्रिएको देख्दा ।
कक्षामा विदेशबाट आएको पैसालाई कसरी सदुपयोग गर्ने र बचत बढाउने तरिकाहरुको छलफल भयो । पबित्रालाई पनि दिनदिनै हुने आम्दानी र खर्चको दुरुस्त हिसाब राख्न मन लाग्यो । हिसाव राख्नु अघि उहाँले आफ्नो आवश्कता र चाहना छुट्याउनु भयो । यसरी छुट्याउँदा दैनिक रुपमा हुने खर्च घटाउन सकिने उहाँको अनुभव छ ।
पासबुकमा भरेको एक महिनाको आम्दानी र खर्चको हिसावलाई आधार मानेर उहाँले खर्चलाई घटाउनु भयो । वित्तीय लक्ष्य पूरा गर्न लक्ष्य अनुसार हरेक महिना जम्मा गर्नुपर्ने बचतको समेत हिसाव निकाल्नु भयो । अनि बल्ल थाहा भयो आफूले गर्ने गरेको खर्चले वित्तीय लक्ष्य पूरा नहुने रहेछन् भनी । यसले उहाँलाई बचत योजना तयार पार्न सघायो । अहिले पवित्रा दैनिक रुपमा हुने खर्च घटाउन थाल्नु भएको छ । उहाँले बच्चालाई प्रयोग गर्ने डाईपरमा हुने खर्च घटाउने जुक्ति निकाल्नु भयो । आजभोली उहाँ डाईपरको साटो घरमै सफा कपडाको न्यापकिन बनाएर प्रयोग गर्न थाल्नुभएको छ । त्यती मात्र होइन माहिनावारीका बेला आफुले प्रयोग गर्ने सेनेटरी प्याड पनि आफैं बनाउन थाल्नु भएको छ ।
बजारबाट कपी, साबुन, सिसाकलम, कलर, कलम, तेल, मसला पनि दर्जनै किन्दा फाइदा हुने कुरा पासबुकले सिकाएको छ । एक दुई रुपँैया मात्र सस्तो पर्दा पनि मासिक रुपमा एक हजार भन्दा बढी बचाउन सकिने पबित्राको अनुभव छ । उहाँलाई आजभोली खर्च धेरै नगर्नु वा कटौती गर्नु पनि बचत नै हो भन्ने लाग्न थालेको छ ।
पैसा कमाएर भन्दा पनि बचाएर धनी बन्न सकिने भन्ने कुरा पनि वित्तीय साक्षरता कक्षामा गएपछि पबित्रालाई थाहा भयो । पबित्राले दैनिक हिसाव राख्न थालेपछि श्रीमान् पनि खुशी हुनुभएको छ । एक एक रुपैँयाको हिसाब राख्न थालेदेखि श्रीमान् र श्रीमतीबीच विश्वास मात्रै होइन बचत पनि बढेको छ । विदेशमा रहनुभएका पवित्रा र उहाँका श्रीमान्सँग हप्तामा एकचोटी आम्दानी र खर्चको बारेमा छलफल हुने गरेको छ । खर्चलाई घटाउन सक्ने धेरै ठाउँहरु हुनेरहेछन् कक्षापछि बल्ल हाम्रो आँखा उघ्रिएको छ, उहाँ भन्नुहुन्छ । वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा मनसँगै पैसाको विषयमा धेरै छलफल हुने भएकोले कक्षा उहाँलाई माईतीघर जस्तै लाग्न थालेको छ ।
पबित्राले बचत बढाउन घरमा कुखुरासँगै बाख्रा पनि थप्नु भएको छ । पवित्राको मितव्ययी भएर खर्च गर्ने बानीले श्रीमान् पनि दंग हुनुहुन्छ । श्रीमान्को आजभोली कुरा गर्ने तरिका र शैली फेरिएको बताउने पबित्रा हरेक बुधवार कक्षामा छलफल भएको बिषय घरपरिवारमा सुनाउनुहुन्छ भने विदेशमा रहनु भएका श्रीमान्लाई पनि । श्रीमान्सँग सवै कुरा गर्न पाउँदा श्रीमान् खुशी हुनुहुन्छ । अझ कुराकानी गर्दा उहाँले मेरो तारिफ गरिदिँदा म झन् धेरै खुशी हुन्छु ।
२ वर्ष पहिले आफ्नो श्रीमान् रोजगारीको लागि साउदी पठाउन २१ बर्षिया पवित्राको मन मानेकै थिएन । घरको गरीवीले परदेश पठाउन वाध्य भँए भन्नुहुन्छ उहाँ । सानै उमेरमा विहे गरि घरजम गरेकी मलाई जहिलेपनि कसरी पैसा कमाउने र धनी हुने भन्ने कुरा मात्र मनमा खेलिरहन्थ्यो । घरदेशमा बसेर पैसा कमाउने जुक्ति नभेटेपछि श्रीमान् विदेश जानुभयो । श्रीमान्् विदेश भएकै कारण आफूले कक्षामा बस्ने अवसर पाएको बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,,“पासबुकमा दैनिक आम्दानी खर्चको विवरण राख्न थाले, हरियो, पहेँलो र रातो खर्चको विवरण हेरी महिनाको अन्तिममा लेखाजोखा गर्छु । आम्दानी भन्दा खर्च बढि भएको देखेर पँहिले खर्च घटाएको छु । खर्च कम गरेपछि बचत बढाएको छु ।” पहिला पहिला विदेशबाट श्रीमान्ले जति पैसा पठाए पनि खर्च गर्थे र बाँकी रहेको बचत गर्थे । तर कक्षामा सिकेपछि पहिला बचत गर्छु अनि बल्ल खर्च गर्छु । वित्तीय साक्षरता कक्षामा सहभागी हुनुअघि दिनमा २५ रुपैंयाँको डाइपर प्रयोग गर्थे । गाउँमा बसेरपनि हरियो तरकारी किन्थें । अण्डा पनि बजारबाटै लिएर आउँथे । तर अहिले अण्डाको लागि ३ वटा माउ पोथी पालेकी छु । तरकारी खान घरकेरेसामा आफूलाई पुग्ने तरकारी रोपेकी छु । उहाँ सुनाउनुहुन्छ । आफ्नो बानी र सोचमा परिवर्तन आएको बताउने उहाँको २ वर्षपछि श्रीमान्सँगै घरदेशमा लघु व्यवसाय गर्ने सोच रहेको बताउनुहुन्छ । पबित्रा मुसुक्क हाँस्दै भन्नुहुन्छ,“पासबुक भर्न थालेपछि बचत मात्र होइन माया पनि बढेको छ ।”