नाती समाउँदै ससुरा, बिदेशमा कमाउँदै श्रीमान अनि व्यवसायबाट रमाउँदै सीता

सीता जैसी उमेरले ३५ बर्षकी हुनुभयो। सानै उमेरमा विहे गर्नुभएकी उहाँका १ छोरा, १ छोरी, श्रीमान्÷श्रीमती रसासु÷ससुरा गरी ६ जनाको परिवार छ । केही समय अघिसम्म उहाँको घर धान्ने आधार विदेशको कमाई थियो तर आज भोली सीतालाई पनि दुःख गर्नुपर्छ, दुःख गरे सुख मिल्छ भन्ने लाग्छ । सीताले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १ कौशिलानगर हाइवेको नजिकै एउटा पक्की घर बनाउनु भएको छ । पहिला कच्ची माटोको घरमा बस्ने सीताको श्रीमान्ले विदेशमा कमाएर पठाएको पैसा अनि श्रीमान्को कमाईमा आफूले पनि पसिना मिसाएरघर बनाएको र त्यही घरमा स–परिवार बस्न पाएकोमा खुशी हुनुहुन्छ उहाँ । घरमा सासुले घरायसी काममा सीतालाई सघाउनु हुन्छ भने ससुराले बच्चा बच्चीको हेरचाह र घरको अन्य काममा सघाउनु हुन्छ ।
सीताको परिवारलाई कहिल्यै भने जस्तो खान र सोचेजस्तो लाउन पुगेन । परिवारको अभाव टार्ने सपना देखेर श्रीमान् परदेश जानुभयो । श्रीमान् गएपछि आफूले सोचे जस्र्तै हुँदै गएको छ, बताउनु हुन्छ उहाँ । आजभोली सीताका छिमेकीहरुले समेत सीताको खुशीको दिन फर्किएको देखेर एक आपसमा कुरा गर्न थालेका छन् । गरीवी र अभावका बीच दुःख गरेर दिन काटेको देखेका सीताका छिमेकीहरुले पनि सीताका खुसीका दिन फर्कदै छन् भनि एक आपसमा कुरा गर्न थालेका छन् ।
सीताका श्रीमान् अहिले कतारमा काम गर्नुहुन्छ । उहाँको श्रीमान् बिदेश बस्न थालेको ९ वर्ष पुरा भयो । श्रीमान्लाई विदेश पठाउने सीताको रहर थिएन तर पनि कमाउने बाटो नभएपछि बिदेश पठाउनुको बिकल्प नरहेको बताउनु हुन्छ उहाँ । आवश्यकताहरु थपिँदै गए, जिम्मेवारी बढ्दै गए । कमाईको धारो सुक्दै जान,े जिम्मेवारीको घैलोमा प्वाल बढ्दै जान थालेपछि विदेश जानै पर्ने बाध्यता भएको दुखेसो पोख्नुहुन्छ सीता ।
केहि समय अघिसम्म श्रीमान्ले पैसा नपठाए घर खर्च टार्न बुझाउन समेत समस्या थियो सीतालाई । ‘छोरा छोरीको पढाईलेखाइ, बुवा आमाको औषधी उपचार, खेतीपाती, घरखर्च सबैमा श्रीमान्को पसिना खर्च हुन्थ्यो ।’ तर सीता आजभोली आफैंले पौरख गरेर कमाउन थाल्नु भएको छ ।
नेपाल सरकार र स्विजल्याण्ड सरकार बीचको द्धिपक्षिय सम्झौता; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहलमा कोहलपुर नगरपालिकले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमले सीताको गाउँमा विदेश जानेको परिवारका लागि वित्तीय साक्षरता कक्षा चलाउने भयो । कक्षामा विदेशबाट पठाएको पैसा बुझिलिने व्यक्ति नै सहभागी हुनु पर्ने भन्ने थाहा भयो । त्यसैले कक्षामा आफै जान्छु भन्ने निर्णय लिँए भन्नुहुन्छ, सीता ।
सुरु सुरुमा त कक्षामा जाँदा पनि आखिर केही पाउने हैन त्यहाँ गएर के हुन्छ र? जस्ता प्रश्नहरुको पहाड ठिंङ्ग उभिए। सहजकर्ताले कक्षामा आउनको लागि प्रोत्साहीत गरेपछि भने उहाँले सहजकर्ताको कुरा टार्नु भएन । कक्षा चल्ने दिनबाट नै उहाँ नियमित कक्षामा आउन थाल्नुभयो । कक्षामा सहभागी भएपछि विदेशमा हुने आफन्तको कागजपत्रको महत्व, आम्दानी र खर्चको हिसावकिताव किन आफूसँग हुन जरुरी छ? त्यसको महत्व बुझ्न पाएँ भन्नुहुन्छ सीता ।
सीता गाउँकै लेखपढ गरेकी बुहारी हुनुहुन्छ । उहाँले गाउँमा दिदी बहिनी समूह पनि चलाउनु भएको छ । उहाँ कक्षामा समेत नियमित आउने गर्नुहुन्छ । कक्षामा छलफल भएका कुरालाई ध्यान दिएर सुन्ने गर्नुहुन्थ्यो । कक्षामा जान थालेपछि उहाँलाई आफैले पनि सक्ने खालको व्यवसाय गर्नुपर्छ, सधै विदेशको आम्दानीको मात्र भर पर्न हुदैन भन्ने जान्नुभयो । उहाँको हातमा लुगा सिउने सीप थियो तर प्रयोगमा नआएपछि सीप जानेकी छु भन्दा दोस्रो फाईदा केहि थिएन उहाँलाई । कक्षामा काम र कमाउने कुरा थाहा पाएपछि सीताले आफ्नै घरमा टेलर खोल्ने निधो गर्नुभयो । उहाँले टेलर चलाउनु दुई वटा सिलाई मेसिन र एउटा इन्टरलक मेसिन किन्नुभयो । मेसिन किन्नका लागी रु ३० हजार रुपैंया गाउँकै दिदिबहिनी समूहबाट लिनुभयो । अहिले उहाँसँग ३ वटा मेसिन छन् ।
अहिले सीतालाई घर खर्च चलाउन मात्र होईन । छोरा छोरीको स्कुल फि बुझाउन र परेको बेला औषधी उपचार गर्न समेत कसैसँग हात पसार्नु परेको छैन । उहाँले ऐच्छिक रुपमा हुने खर्च समेत घटाउनु भएको छ । त्यही पैसा जोगाएर दैनिक पाँच सय रुपैया बचत गर्ने गरेकी छु भन्नुहुन्छ, उहाँ । उहाँले आफ्नो टेलरमा टाँक र धागो समेत बिक्रीका लागि राख्नु भएको छ । सीताले पसलको भाडा तिर्नु नपर्ने भएको हुँदा आफैले कमाएको पैसाबाट महिनामा १५ हजार सम्म बचत गर्ने गर्नुभएको छ । घरव्यवहार समेत आफ्नै कमाईले धानेपछि श्रीमान्ले कमाएको पैसा खर्च गर्नुपरेको छैन भन्नुहुन्छ सीता । मेरो मेहनत र पौरख देखेर आजभोली श्रीमान् र सासु÷ससुरा समेत निकै खुसी हुनु भएको छ, भन्नुहुन्छ उहाँ ।
सीताले घर बनाउँदा लागेको र टेलर खोल्दा लिएको ऋण तिरिसक्नु भयो । सीताले अहिले टेलर सँगसँगै २ वटा खसी र २ वटा माउ बाख्रा सहित ५ वटा बाख्रा पनि पाल्नु भएको छ । अहिले उहाँको परिश्रम र मेहनत देख्नेहरु हामी पनि कमाउनका लागी सीता जस्तै मेहेनती बन्नुपर्छ भनेको सुन्दा खुशी लाग्ने गरेको बताउनुहुन्छ सीता ।
सीता आजभोली आफुले गरेको मेहेनत र अनुभव गाउँका दिदी बहिनीहरुसँग पनि साँट्नुहुन्छ । सीता गाउँका दिदी बहिनीलाई पनि आफूले जस्तै ऐच्छिक रुपमा गरिने खर्च घटाएर बचत गर्ने सल्लाह दिनुहुन्छ । हरेक मान्छेले देखेको सपना पूरा गर्न पैसा कति कमायो भन्दा पनि जमायो भन्ने कुराले अर्थ राख्ने भएको बताउनुहुन्छ उहाँ । विदेशबाट आएको पैसा मनलाग्दी किसिमबाट खर्च गर्नुहुन्न भनेर सम्झाई बुझाई गर्ने सीता गाउँका सवैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ ।
सीताले भविष्यको लागि भनेर गाउँकै दिदी बहिनी समुह र सहकारी संस्थामा बचत गरिहनु भएको छ । उहाँले आफ्नो मात्र नभई छोरा छोरीको नाममा समेत मासिक बचत गरिदिनु भएको छ । यसरी वित्तीय साक्षरता कक्षामा आएर धेरै कुरा सिक्न र जान्न पाएकोमा उहाँ निकै खुशी हुनुहुन्छ । लेखपढ गरेको भए पनि रुपैंयाँ पैसालाई राम्रोसँग नचिनेको रहेछु जस्तो लाग्छ उहाँलाई अहिले । यो कक्षा धेरै पैसा हुनेका लागि भन्दा पनी थोरै पैसाबाट धेरै काम फर्छयाउनुु पर्नेहरुका लागि झन् महत्वपूर्ण रहेछ उहाँ भन्नुहुन्छ । उहाँलाई कक्षामा जानेको कुरा आफूले राखेर मात्र घरमा समृद्धि आउँछ जस्तो लाग्दैन । त्यही भएर उहाँले कक्षामा सिकेका कुरा सासु÷ससुरा र विदेशमा हुने श्रीमान्लाई समेत स–बिस्तार लाउने गर्नुभएको छ ।सासु ससुरा पनि मेरो फेरिएको बानी व्यवहार देखेर दंग हुनुहुन्छ । सीता आफूmले गरेको दुईवटै व्यवसायलाई अझै विस्तार गर्दै लैजाने सोचमा हुनुहुन्छ ।


