Donate for a Good Cause

घरको लागी खम्बा बनेर उभिन संगीता देवी मुखिया

घरको लागी खम्बा बनेर उभिन संगीता देवी मुखिया

भगवानले बाच्नका लागि एउटा बाटो बन्द हुँदा अर्को बाटो खोल्दिनुहुन्छ भने झैं लाग्छ । विदेशमामा काम गर्न जाने सवैको सपना पूरा हुँदैनन् भन्ने संगितालाई सुखमा मात्तिनु र दुःखमा आत्तिनु हुदैन भन्ने लाग्छ ।  श्रीमान् विदेश गएपछि आफ्ना रहरसँगै आफूले देखेका सपनाहरु पूरा होलान् भने जस्तै लागेको थियो । तर श्रीमान् विदेश पुगेको २ बर्ष पनि नवित्दै कम्पनी बन्द भयो र आशाका ऐनाहरु एकसाथ झर्याम्म फुटे भन्नुहुन्छ संगिता ।

 जनकपुरधाम उप–महनगरपालिका वडा नं २५ लोहना बस्ने हरिवन नगरपालिकाकी संगीतादेवी मुखियाले श्रीमानवको बिदेश यात्रा असफल होला भनेर अनुमान समेत लाउनु भएको थिएन । परिवारलाई खुशी र सुखी बनाउने सपना साकार हुन पाएन । छरछिमेकीबाट संगिताको श्रीमान् भोगिन्दरले २ लाख रुपैंयाँ ऋण लिनुभयो । ऋण लिएर कतार जानुभएका श्रीमान्को सूरुसूरुको कमाई राम्रो भयो । अभावले खर्च टार्न हम्मे हम्मे पर्ने संगिताको घर मजैले चल्यो । श्रीमान्ले पैसा पठाएपछि । घरको अभाब टरेपछि २ जना सन्तानकी आमा संगिताले छोराछोरीको रहरहरु पनि पूरा गरिदिनु भयो । उहाँलाई श्रीमान्को कमाई हातले खेलाउन पाउँदा रातपछिको दिन आए झैं लागेको थियो ।

श्रीमान्ले कतारबाट पठाएको पैसा नतऋण तिर्नुभयो नत बचत नैे । बरु हात लागेको पैसाले आफू र छोराछोरीको ईच्छा र चाहानाहरु पूरा गर्न थाल्नुभयो । तर श्रीमान्को कमाई लामो समय नियमित भएन बरु कमाईदिने मान्छे नै घर फर्कनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम डिप्रोक्स–नेपालको  प्राविधिक सहयोगमा सञ्चालन गरिरहेको थियो । उहाँ बसेकै ठाउँमा नगरपालिकाले वित्तीय साक्षरता कक्षा चलाउने भयो । उहाँलाई पनि कक्षामा बस्न मन लाग्यो । संगिता बभनगम्मा वित्तीय साक्षरता कक्षामा सहभागी हुनुभयो । वित्तीय साक्षरता कक्षामा बस्न थालेपछि संगिता आफै साटिए जस्तै हुनुभयो । आफैं फेरिएपछि उहाँको जीवनको बाटो नै बदलिएको जस्तो भएको छ भन्नुहुन्छ संगिता ।

परिवारको सदस्य विदेश गएपछि मान्छे फेरिन्छन् । विदेशबाट खुरुखुरु पैसा आउने भएपछि अभाव टर्छ । गाउँमा अरुभन्दा सम्पन्न भईयो भने फूर्ति पनि बढ्छ । अझ अरुको देखासिकी गर्न सकिएन भने अरुले पनि हेपेको जस्तो लाग्दा व्यवहार बिग्रिएको रहेछ भन्ने लागेको छ, संगितालाई ।

वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षामा बस्न थालेपछि संगिताले परिवार व्यवस्थापन गर्ने जुक्ति जान्नु भएको छ । त्यतीमात्र नभएर सुरक्षित विप्रेषण, वित्तीय लक्ष्य निर्धारण, बचतको महत्व, विपन्नताबाट सम्पन्नतातिर लाग्ने उपायहरु, लघु उद्यम व्यवसाय र व्यावसायिक योजना जस्ता बिषयमा समेत जान्न पाउनु भयो उहाँले ।

श्रीमान् कतारबाट घर फर्किएपछि बाँच्नका लागि अरु आम्दानीको बाटो थिएन । कमाउने बाटो नै नभएपछि घरपरिवार चलाउन गाह्रो भयो । संगिताले श्रीमान्लाई दुवैजना मिलेर व्यवसाय गरौं भन्ने प्रस्ताव गर्नुभयो । तर श्रीमान् भोगिन्दरले आफूसँग सुको पैसा पनि साथमा नभएको बताउनु भयो । संगिताले श्रीमान् विदेश जाँदा लागेको ऋण् पनि तिर्नुभएको थिएन । ऋण माथी ऋण दिने महाजन थिएनन् । तर संगिताको मन हारेको थिएन । कक्षामा बसेर व्यवसायमा जोखिम हुन्छ भन्ने थाहा पाउनु भएकी संगितालाई व्यवसाय गरेर कमाउने अठोट थियो । संगिताले आफ्नो मनमा उब्जिएको सोच माईतीघरमा गएर आमालाई सुनाउनु भयो । कक्षामा सिकेका कुरा आमालाई पनि भन्नुभयो संगिताले । छोरीको आँट र भत्केको परिवारलाई जोडिदिन आमाले संगितालाई सहयोग गर्ने बचन समेत दिनुभयो । आमाले आफूसँग भएको १० हजार रुपैंया संगिताको हातमा थमाईदिनु भयो । फेरी सही बाटोमा ल्याउने सपना देखेर आफु केही सहयोग गर्ने वाचा गर्नुभयो । आफूलाई संकट पर्दा आमाले खाई नखाई छोराहरुलाई समेत थाहा नदिई लुकाएर राखेको पैसा दिँदा संगिताका आँखा आँसुले टिलपिल भए । उहाँले आमाको असल मनले दिएको पैसाबाट आम्दानी लिएर सकेको चाँडो पैसा फर्काउने बाचा गर्नुभयो ।

मनभरी सोच र थैंलीमा आमाले दिएको पैसा लिएर घर फर्कनुभएकी संगिताले श्रीमान्सँग घर सल्लाह गर्नु भयो । आफ्नो टोलमा खाजा खाने पसल नभएको र आफ्नो हातमा खाजा तयार गर्ने सीप भएको हुँदा  दुवैजना मिलेर खाजा खाने पसल खोल्ने निर्णयमा पुग्नु भयो । उहाँहरुले सोचे झैं गाउँमा खाजा बनाएर खाने ठाउँ खोजी व्यवसाय सञ्चालन गर्नुभयो ।

कक्षामा बसेर संगिताले काम तथा जिम्मेवारीको बाँडफाँड र परिवार व्यवस्थापनको बारेमा जान्नु भएको थियो । परिवारमा हामी एक अर्काको जिम्मेवारी बाँडेर काम गर्न थाल्नुभयो ।  श्रीमान् घर बनाउने मिस्त्रीको काममा जान थाल्नु भयो । छोराछोरीले स्कुल सकेर घरमा रहेको २ वटा बाख्राको लागि घाँस ल्याईदिने काममा सहयोग गर्न थाले र म आफु खाजा पसल चलाउन थाले भन्नु हुन्छ संगिता ।

संगिताका श्रीमान् बेलुका घर फर्कदा आफ्नो खाजा घरमा छिर्नुहुन्छ । पसलमा आएपछि पनि उहाँ संगितालाई सघाउनु हुन्छ । फुर्सद भएको बेला जेठी छोरी पनि पसलमा ग्राहकलाई खाजा दिने काममा सघाउन आउँछिन् भन्नुहुन्छ उहाँ ।

अहिले संगितालाई के खाउँ के लाउँ भन्ने पीर छैन । दैनिक पसलमा खाजा बिक्री गरेर संगिताले ८ सय रुपैंयाँदेखि १ हजार रुपैंयाँ सम्म आम्दानी लिनुहुन्छ । पसलमा खाजा बेचेर कमाएको नाफा जम्मा गरेर आमाबाट लिएको सापटी पनि फिर्ता गरिसक्नु भएको छ संगिताले । अहिले खाजा बेचेर कमाएको पैसाबाट घरमा ४ वटा माउ बाख्रा थप गर्नुभएको छ । कक्षामा बसेपछि व्यापार व्यवसाय मात्र होईन जँहा गएपनि म नडराई ढुक्कसँग आफ्नो कुरा राख्न सक्ने भएकी छु भन्नु हुन्छ संगिता ।