Donate for a Good Cause

श्रीमान् र परिवारसँगको सम्वन्ध सुधारका लागि रामबाण बन्यो वित्तीय साक्षरता कक्षा

श्रीमान् र परिवारसँगको सम्वन्ध सुधारका लागि रामबाण बन्यो वित्तीय साक्षरता कक्षा

‘चीनका राजा, भोटको नून, ज्यानै दिए नि नदेख्ने गुन’ भनेर्झैं नवलपरासी सुस्ता पूर्वकी कल्पना कार्कीका श्रीमान् कामका लागि यूएई जानुभएको १५ बर्ष पूरा भएको छ तर श्रीमान् विदेश गएदेखि नै कल्पनाको मनमा खुशी भन्दा धेरै गुनासा थुप्रिए । जसरी भोट जाँदा मदनले मुनालाई बिर्सिएका थिए त्यसैगरी कल्पनाको श्रीमान्ले पनि कल्पनालाई बिर्सनु भयो, भन्नुहुन्छ कल्पना । त्यसरी विदेश गएर घरपरिवार भुल्नु भएका कल्पनाका श्रीमान्ले वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका कारण घर सम्झनु भएको छ । जसरी मदनले लेखेको चिठी मुनाको हातमा पर्छ त्यसरी नै । 

नवलपुर जिल्लाको मध्यबिन्दु ३, ब्रम्हस्थान वस्ने कल्पनाको श्रीमान्ले एकाएक श्रीमतीको माया बिर्सिएपछि कल्पनालाई न दिनमा भोक लाग्थ्यो, न त रातमा निन्द्रा नै । आम्दानीको दिगो श्रोत समेत नभएकी कल्पनालाई घर चलाउन समेत गाह्रो भएको थियो । बिदेशबाट श्रीमान्ले एकाएक पैसा पठाउन छाडेपछि कल्पनाका रहरहरु चितामा सल्किएको आगोले निमेशभरमै खरानी भएको लास झैं बन्न पुगे । 

कल्पनाले बिदेशबाट आएको पैसा आफूखुशी खर्च गर्नुहुन्थ्यो तर आफूले गरेको खर्चको हिसाव राख्नुपर्छ भन्ने कुरा उहाँको मनले अह्राएन । श्रीमान्सँग बिदेशबाट पठाएको पैसाको हिसाव थियो तर कल्पनासँग केमा खर्च भयो त्यसको लेखो नै थिएन । जसको कारण श्रीमान्ले अनेकथरी शंका गर्नुहुन्थ्यो । कुरैकुरामा अरुसँग सम्बन्ध बनाएर मैले कमाएको सवै पैसा खुवाईस् भन्ने आरोपसमेत लगाउन पछि पर्नुभएन कल्पनाका श्रीमान् । आफ्नो दुःख बुझिदिने श्रीमान्ले समेत राम्रो नगरेपछि घरपरिवार समेतबाट हेलाको पात्र बन्नुभयो उहाँ । विदेशबाट घरमा पैसा आउने बाटो नै बन्द भएपछि खेतीपाती र दैनिक ज्याला मजदुरी गरेर ज्यान पाल्नुपर्ने अवस्था आयो कल्पनालाई ।

तर कल्पनाले परिवारको लागि रोजेको बाटो गलत थिएन । गाउँबाट विदेश गएर मनग्य पैसा कमाएर फर्किएकाहरुले घडेरी जोडे । श्रीमान्ले विदेशबाट पैसा पठाएकै बेला उहाँलाई पनि अरुले झैं घडेरी जोड्न मन लाग्यो । श्रीमान्ले नियमित पैसा पठाईहाल्नु हुन्छ भन्ने बिश्वासले उहाँले २४ प्रतिशत व्याजमा ६ लाख ५० हजार ऋण लिनुभयो र घडेरी किन्नु भयो । तर श्रीमान्को कमाई कल्पनाले सोचे जस्तो भएन । विदेशमा श्रीमान्ले काम गर्ने कम्पनी राम्रो चलेन । श्रीमान्को कमाई घट्यो । एकातिर बिदेश जाँदा लागेको ऋणको बोझ उहाँका श्रीमान्को थाप्लोमा थियो; अर्कातिर घडेरी जोड्दा लिएको ऋण थपियो । ऋणले थाप्लो किचिएपछि कल्पना दम्पत्तीको सम्वन्ध पनि बिग्रियो ।

ऋणै ऋणले कल्पनाको व्यवहार बिग्रियो । बिदेशबाट श्रीमान्ले फोन गरेर जति पैसा पठाएपनि ऋण नसक्किने भनी तनाव दिनुहुन्थ्यो । शायद मैले गरेको घरखर्च अनि जग्गामा गरेको लगानी माथी शंका लागेरै होला श्रीमान् सम्पर्कबिहिन हुनुभयो भन्नु हुन्छ कल्पना ।

कल्पनालाई एकदिन ऋण मुक्त हुन्छु भन्ने थाहा त थियो तर तत्कालका लागि साहारा दिने कोहि थिएनन् । छोराहरुको स्कुल फि बापत स्कुलमा तिर्ने पैसा पनि सासुको नाममा पठाउन थाल्नु भयो । कल्पनाको पैसा आउने बाटो कुनै थिएन । आफू अनि छोराछोरी बिरामी पर्दा समेत माईतीसँग हात पसार्नुपर्ने अवस्था बन्न थाल्यो । खाँचो टार्नकै लागि कल्पना कहिले दाजु भाई त कहिले दिदी बहिनीसँग सहयोगको हात पसार्नुहुन्थ्यो । यसैगरी चलेको थियो कल्पनाको दैनिकी ।

कल्पनाको गाउँमा मध्यबिन्दु नगरपालिकाले हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) कोे नेतृत्वमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन भएको थियो । हिकोडेफले डिप्रोक्स–नेपालको प्राविधिक सहयोगमा उहाँको गाउँमा पनि वित्तीय साक्षरता तथा मनोपरामर्श कक्षा चलाउने भयो । कक्षामा छलफल हुने बिषयको बारेमा बुझेपछि कक्षाले कल्पनाको ध्यान तान्यो । कक्षाको बारेमा जानेपछि एकातीर बिग्रीएको सम्वन्ध अनि भत्कन लागेको घरायसी व्यवहारलाई कक्षाले मलमपट्टि लगाउन सक्छु कि भन्ने आश पलायो कल्पनाको मनमा ।

कक्षामा सहभागी भएपछि कल्पनाले परिवारसँगको व्यवहारमा सुधार गर्नुपर्ने कुरा थाहा पाउनु भयो । आफूले परिवारसँग गरेको व्यवहार र गर्नुपर्ने व्यवहारलाई दाँजेर हेर्नुभयो । सँधै परिवारमा बेमेल हुने कल्पनाको फेरिएको बानीले परिवारसँगको सम्बन्ध सुधार हुँदै गयो । बल्ल कल्पनाले श्रीमान्सँग कसरी विश्वास टुटेछ भन्ने कुरोको चुरो पत्ता लगाउनु भयो ।

कक्षामा बसेपछि कल्पनाले बिदेशमा गर्नुपर्ने दुःख अनि परदेशीले देख्ने सपनाका बारेमा बुझ्न पाउनु भयो । श्रीमान्ले पठाएको पैसा अनि त्यसको हिसाव किताव नहुँदा श्रीमान्को व्यवहार फेरिएको हो कि भन्ने लाग्यो कल्पनालाई । कल्पनाले कक्षामा बिदेशबाट आएको मात्र नभई परिवारमा हुने आम्दानी र खर्चको हिसाव राख्नु पर्ने कुरा थाहा पाउनु भयो । थाहा पाएको कुरालाई व्यवहारमा पनि उतार्नु भयो । दैनिक रुपमा हुने आम्दानी र खर्चको हिसाव दुरुस्त टिपेर राख्नु भयो । आफूले टिपेको हिसाव छोराहरु मार्फत दैनिक रुपमा विदेशमा रहनुभएका श्रीमान्लाई पठाउन थाल्नु भयो ।

आगोको रापले फलाम त गल्छ, मान्छेको मन न हो, विश्वास नै जितेपछि नपग्लने भन्ने कुरै भए

न । श्रीमान्ले छोराहरुलाई आमासँग बोल्न मन छ भनी मेसेन्जरमा खवर गर्नुभएछ । अव भने कल्पना खुशी हुँदै भन्नुहुन्छ । 

श्रीमान्ले मसँग बोल्ने मन गरेपछि म आफैं श्रीमान्सँग निहुरिँए । त्यसअघि नै भिन्न भएर घरमा एक्लै बस्ने सासुलाई समेत उहाँले सँगै राख्नु भएको थियो । कक्षामा उहाँले सम्वन्ध राम्रो बनाउनको निम्ति राम्रो सोच राख्नुपर्छ भन्ने बिषयपनि आफूले बुझेको बताउनु हुन्छ, कक्षामा जानेकै कुरा गरेंकी हुँ, उहाँ थप्नुहुन्छ । यसरी एकाएक हाम्रो जीवनको खराव ऋतुको अन्त्य भयो अनि ९ बर्षदेखि बिग्रिएको श्रीमान्सँगको सम्बन्धमा सुधार आयो । विगतको जस्तै सम्वन्धमा दरार नआओस् भनी अहिले सासु र श्रीमान्सँग हरेक कुरामा सल्लाह लिने गरेको बताउनु हुन्छ उहाँ । 

छोराले मेसेन्जरबाट मैले राखेको आम्दानी खर्चको हिसाव पठाउथ्यो । मैले राखेको खर्चको दैनिक हिसाव श्रीमान्ले हेर्नुहुँदो रहेछ । त्यही खर्च देखेपछि यत्तिञ्जेलसम्म कसरी घर धान्यौ भन्नु भयो । श्रीमान्को यो प्रश्नले मेरो बोली नै रोकिएको थियो भन्नुहुन्छ कल्पना । अहिले श्रीमान् र श्रीमतीबीच आम्दानी र खर्चको मात्र होईन १५ बर्ष अघि बिदेश जाँदा हाम्रो जस्तो सम्वन्ध थियो त्यस्तै छ भन्नुहुन्छ उहाँ ।

यतिबेला सम्म कल्पनाले आफूले किनेको घडेरीको ऋण तिर्न सक्नु भएको थिएन । श्रीमान्सँगको सम्बन्ध सुधार भएपछि आफ्नो नाममा रहेको ऋण तिर्न माईतीले सहयोग ग¥र्यो । उता श्रीमान्ले पैसा पठाउन छाडेपछि आफ्नै नाममा राख्नु भएको रहेछ । केहि समय पछि श्रीमान्ले माईतीबाट लिएको सापटी पनि फिर्ता दिनुभयो भन्नुहुन्छ कल्पना । कल्पनाले उतीबेला ६ लाख ५० हजारमा किनेको जग्गाको मुल्य अहिलेको बजार भाउ अनुसार ११ लाख रुपैंयामा बिक्री हुन्छ ।

कल्पनालाई आफ्नो नाममा ऋण रहुञ्जेल कहिल्यै चैन भएन । उहाँले कक्षामा जाँदा ऋण तिर्नका लागि पैसा कमाउने पेशा समात्ने सपना देख्नु भएको थियो । यसैबीचमा नगरपालिकाद्वारा मेड्पा कार्यक्रमले कक्षाका सहभागीहरुलाई बाँसका सामग्री बनाउने तालिम दियो । उहाँलेपनि बाँसबाट डस्टविन, फोटो फ्रेम, पूmलदानी, चुरा स्ट्याण्ड जस्ता सामग्री बनाउन सिक्नुभयो । उहाँ घर बसी बसी बाँसका सामानहरु बनाउनु हुन्छ । सामान चाहिनेहरु घरमै आएर मैले बनाएका सामानहरु किनेर लान्छन् । सुरुमा १ हजार ५ सयको लगानीबाट सुरु गरेको व्यवसायले अहिले फुर्सदको समयमा काम गर्दापनि महिनाको ५ हजार भन्दा बढि आम्दानी दिइरहेको छ । घरबाट सामान बिक्रि हुन छाडेपनि नगरपालिकाले नै हामीले उत्पादन गरेको सामाग्रीको बजारीकरण गरिदिने प्रतिवद्धता जनाएको छ भन्नु हुन्छ कल्पना ।  यसरी परिवार अनि श्रीमान्सँग विग्रिएको सम्वन्ध सुधारका लागी वित्तीय साक्षरता कक्षा रामबाण बनेको बताउनु हुन्छ कल्पना ।